राजनीति

धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न योगदान पुर्‍याउने सबैप्रति धन्यवाद : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले धार्मिक तथा साम्प्रदायिक समस्या सामान्यीकरणको दिशातर्फ अघि बढिरहेको बताएका छन्। राजनीतिक दल, नागरिक समाज तथा नेपाली समाजका सबै तह र तप्काको सहयोग र सरोकारका कारण स्थिति सुधारोन्मुख रहेको उनको भनाइ छ।

शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले समस्या समाधानतर्फ सकारात्मक प्रगति भए पनि चुनौती अझै पूर्ण रूपमा समाप्त नभएकाले सबै पक्ष उत्तिकै सजग रहनुपर्नेमा जोड दिएका छन्।

'राजनीतिक दल, नागरिक समाज, नेपाली समाजका सबै तह र तप्काको सरोकार र सहयोगमा धार्मिक र साम्प्रदायिक समस्या सामान्यिकरणको दिशामा अग्रसर देखिन्छ। यो सुखद पक्ष हो,' उनले भनेका छन्, 'ज-जसले यस काममा सहयोग गर्नु भो सबै धन्यवादको पात्र हुनुहुन्छ। तर चुनौती अझै सकिएको छैन। सजगता उत्तिकै जरुरी छ।'

पोखरेलले घटनाको संवेदनशीलता नबुझ्ने र समस्या समयमै समाधान नगरी अवस्था बिग्रन भूमिका खेल्नेहरू नै अहिले आफूलाई श्रेय लिन खोजिरहेको आरोप पनि लगाएका छन्। उनले यस्ता प्रवृत्तिबाट विचलित नहुन आग्रह गर्दै सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पवित्र अभियानमा सबैलाई निरन्तर लागिरहन आह्वान गरेका छन्।

उनले भने, 'तर घटनाको संवेदनशीलतालाई नबुझ्ने र समस्यालाई समयमै हल नगरेर स्थिति बिगार्न भूमिका खेल्नेहरू नै यतिबेला आफैँ जस लिने कोसिसमा छन्। यस्तो प्रवृत्तिबाट विचलित नभए सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने पुनित कार्यमा निरन्तर लागि रहौ।'

प्रकाशित: १६ श्रावण २०८३ ११:३७ शनिबार