राजनीति

राष्ट्रसंघमा शाहले भने : मलाई सबैभन्दा कम उमेरको सरकार प्रमुख भएको बताइएको छ

आफू यस वर्ष संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने सबैभन्दा कम उमेरका सरकार प्रमुख भएको बताइएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनको केन्द्र आफू नभई विश्वका कमजोर समुदायको आवाज भएको बताए।

‘मलाई यस वर्ष यो महासभालाई सम्बोधन गर्ने सबैभन्दा कम उमेरका सरकार प्रमुख भएको बताइएको छ। तर म यहाँ त्यसलाई मुख्य विषय बनाउन आएको होइन। यो मञ्चबाट अरू जे कुरा भनिए पनि एउटा कुरा स्पष्ट रूपमा भनिनुपर्छ,’ उनले भने।

नेपालको समस्या मात्रै नभएको उनले बताए। ‘यो नेपालको मात्रै दुर्भाग्य होइन। बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका वा हाम्रो क्षेत्रका अन्य कुनै पनि देशलाई सोध्नुस्, सबैले यस्तै कथा सुनाउनेछन्। हामीले जलवायु परिवर्तन गराएका होइनौं, तर त्यसको असर भोगिरहेका छौं। हामीले सुरु नगरेका युद्धको असर पनि भोगिरहेका छौं।’

यसले विश्वव्यापी सहकार्यमा देखिएभन्दा धेरै समस्या रहेको देखाउने उनले बताए। शाहले आफू विश्वका कमजोर समुदायको आवाज स्पष्ट रूपमा उठाउन आएको उनले बताए। 

‘कुनै देशले तिर्न सक्ने अवस्था छ भने उसले आवश्यक वस्तु किन्न सक्नुपर्छ। ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग किसानलाई सम्मानजनक जीविकोपार्जनको साधन उपलब्ध गराउन नसक्ने कुनै बहाना छैन,’ उनले भने।

बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै उनले साना तथा गरिब मुलुकको उपस्थिति र आवाज प्रभावकारी हुने संयुक्त राष्ट्रसंघ आवश्यक रहेको बताए।

जलवायु न्याय आर्थिक सहयोगमा मात्र सीमित नभएको उनले बताए। उनका अनुसार जलवायु न्यायमा लागत कसले व्यहोर्ने, निर्णय प्रक्रियामा कसको आवाज सुनिने र भावी पुस्ताको भविष्यलाई कसरी समान महत्व दिने भन्ने विषय पनि जोडिन्छ।

प्रकाशित: ९ आश्विन २०८३ ०७:१३ शुक्रबार