राजनीति

विपद्को सामना गर्न बादलले अघि सारे सात प्रस्ताव

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले  आजको प्रतिनिधिसभाको बैठकमा विपद्को सामना गर्न सरकार र संसद्समक्ष सातवटा प्रस्ताव अघि सारेका छन्। 

उनले प्रधानमन्त्रीले आफ्नो एकाङ्की शासन शैलीमा गुणात्मक परिवर्तन गर्दै संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने र सरकारका योजना तथा कामबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने बताए। 

त्यस्तै, राष्ट्रिय सहमतिका आधारमा वर्तमान संकटको सामना गर्न सरकारले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित १६ पक्षीय संयन्त्र निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ। 

सरकारलाई सचेत तथा सहयोग गर्न सभामुखले विशेष संसदीय समिति गठन गर्नुपर्ने उनले बताए। अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल ९स्पेसल टास्क फोर्स० गठन गर्नुपर्ने थापाको प्रस्ताव छ। 

त्यसैगरी, युद्धस्तरमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न रक्षामन्त्रीको नेतृत्वमा युनिफाइड स्पेसल टास्क फोर्स गठन गर्नुपर्ने उनले बताए। पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा छुट्टै विशेष कार्यदल गठन गर्नुपर्ने उनको प्रस्ताव छ। 

जलवायु परिवर्तनबाट उत्पन्न संकटको सामना गर्न अन्तर्राष्ट्रिय एक्यबद्धता जुटाउने र आवश्यक रणनीति तय गर्ने उद्देश्यले सरकारले सगरमाथा संवादको दोस्रो संस्करण अघि बढाउनुपर्नेमा समेत थापाले जोड दिए।  

प्रकाशित: १७ भाद्र २०८३ १५:३० बुधबार