मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालसहितका सात दलले शनिबार काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा मोर्चाको औपचारिक घोषणा गरेका हुन्।
मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन्।
तत्कालीन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीसमेत मोर्चामा सहभागी छन्।
मोर्चा घोषणा कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले देशमा संकट र अत्याचार बढेका बेला फरक राजनीतिक विचारधारा बोकेका शक्तिहरू विगतमा पनि एक ठाउँमा आएर संघर्ष गरेको बताए।
उनका अनुसार मोर्चाको मुख्य उद्देश्य संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतान्त्रिक मूल्य-मान्यता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता तथा मानव अधिकारका उपलब्धिको संरक्षण गर्नु हो। ‘देश संविधानअनुसार चल्नुपर्छ, विधिसम्मत तरिकाले चल्नुपर्छ। कानुनी शासन र संविधानवाद कायम हुनुपर्छ,’ राउतले भने।
मोर्चा सत्ता प्राप्तिका लागि नभई संघर्षका लागि गठन गरिएको राउतले स्पष्ट पारे। उनले वर्तमान सत्तामा रहेका दल तथा नेताहरूलाई मोर्चाबाट आफ्नो कुर्सी खोस्ने उद्देश्य नरहेको बताए।
‘यो मोर्चा संघर्षका लागि बनेको हो, सत्ता प्राप्तिका लागि हामीले गठबन्धन गरेका होइनौं,’ राउतले भने, ‘कुर्सीमा बसेर चलाउनुस्, तर संविधानवादमा चल्नुस्। संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य-मान्यताअनुसार शासन सञ्चालन गर्नुस्।’
विगतका दशकौं लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न आफूहरू एक ठाउँमा आएको उनको भनाइ थियो।
प्रकाशित: २३ श्रावण २०८३ १४:२८ शनिबार



