नेपाली कांग्रेसका सात नेताहरूले पार्टी सभापति शेरबहादुर देउवा भेट्दै छन्। सोमबार (आज) चाक्सीबारीमा छलफल गरेका सात नेताहरूले सभापति देउवालाई भेट्ने भएका हुन्।
आज भेट्ने नेताहरूमा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीत्रय शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला र नेता डा. प्रकाशशरण महत थिए। छलफलका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको नेता सिटौलाले जानकारी दिए।
उनका अनुसार छलफल भएका विषयबारे पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराइने छ। त्यसका लागि मङ्गलबार (भोलि) पार्टी सभापति देउवालाई भेट्दैछन्। 'जति पनि छलफल भयो, त्यस विषयमा पार्टी सभापतिलाई भोलि नै भेटेर सुनाउँछौँ,' उनले भने।
त्यसो त महत बाहेकका सबै नेताहरू सभापतिका आकाङ्क्षी हुन्। संस्थापन पक्षीय भनेर चिनिने यी नेताहरूले यसअघि पनि छलफल गर्दै आएका हुन्। पार्टीको १५औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले पनि सक्रियता बढाएका छन्।
१५औं महाधिवेशनमा देउवाले सभापतिका उम्मेदवार बन्न नपाउने भएपछि उनी निकट नेताहरूले दौडधुप बढाएका छन् भने कतिपय नेताहरू संस्थापनइतर पक्षमा ओत लाग्न पुगेको बताइन्छ। यी नेताहरूले यसअघि पनि पार्टी सभापति देउवालाई भेटेर 'तपाईंको उत्तराधिकारी को' भनेर सोधेका थिए। जवाफमा देउवाले सल्लाह गरेर एक जनाको नाम लिएर आउन भनेको र नेताहरूको प्रयास त्यसमै रहेको बताइन्छ।
प्रकाशित: ५ श्रावण २०८२ १७:३१ सोमबार