जेन-जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएका लुम्बिनी प्रदेशका दुई यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स बाहेकका सेवा प्रारम्भ गरिएको छ।
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते बाँके नेपालगन्ज स्थित यातायात व्यवस्था कार्यालय र दाङ तुलसीपुर स्थित यातायात व्यवस्था कार्यालयमा आगजनी भएको थियो।
आगजनी तथा तोडफोडबाट दुवै कार्यालयहरू पूर्ण रुपमा ध्वस्त भएका थिए। रुपन्देही, नवलपरासी स्थित कार्यालयहरूमा भने कुनै क्षति पुर्याइएको थिएन।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार अहिले यी दुवै कार्यालयहरूले सेवा प्रारम्भ गरिसकेका छन्। तर लाइसेन्स सम्बन्धी काम भने हुन नसकेको मन्त्रालयले जनाएको छ।
‘जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रदेश अन्तर्गतका नेपालगन्ज र तुलसीपुर स्थित यातायात व्यवस्था कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त अवस्थामा थिए,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘आगजनीका कारण ध्वस्त भएका कार्यालयबाट सेवा दिन केही समय सकिएन, अहिले दुवै कार्यालयबाट सेवा पुनः सुरु भैसकेको छ।’
मन्त्रालयका अनुसार लाइसेन्स सम्बन्धी काम बाहेक जाँच पास, रुट परमिट, ब्लुबुक नवीकरण, अस्थायी बाटो इजाजतको काम सुरु गरिएको छ। लाइसेन्सको काम भने यातायात व्यवस्था विभागकै सफ्टवेयरमा क्षति पुगेका कारण सुरु गर्न नसकिएको मन्त्रालयले जनाएको छ।
यसैबिच लामो समय देखि भाडामा रहँदै आएको नेपालगन्ज स्थित यातायात व्यवस्था कार्यालय प्रदेश सरकार अन्तर्गतको आफ्नै भवनमा स्थानान्तरण गरिएको छ।
नेपालगन्ज स्थित सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास डिभिजनको रिक्त भवनबाट यातायात व्यवस्था कार्यालयको काम प्रारम्भ गरिएको हो।
यसअघि कार्यालय सञ्चालनका लागि प्रदेश सरकारले मासिक भाडा बुझाउँदै आएको थियो। तर अब प्रदेश सरकार अन्तर्गतकै भवनमा कार्यालय स्थानान्तरण गरिएकाले प्रदेश सरकारको आर्थिक दायित्व पनि घटेको मन्त्री न्यौपानेले बताए।
‘अहिले सम्म बाँके स्थित यातायात व्यवस्था कार्यालय भाडामा सञ्चालित थियो, कार्यालय सञ्चालनका लागि भाडा बुझाउनु पर्ने अवस्था थियो,’ मन्त्री न्यौपानेले भने ‘तर अब प्रदेश सरकारकै आफ्नै भवनमा यातायात सेवा कार्यालय स्थानान्तरण भएको छ, अब भाडा तिर्नु नपर्ने भयो, यसले प्रदेश सरकारको आर्थिक दायित्व कम भएको छ।’
मन्त्री न्यौपानेले केही समय अघि देखि यातायात व्यवस्था कार्यालय भाडाको घरबाट हटाएर प्रदेश सरकारकै आफ्नै भवनमा स्थानान्तरण गर्न पहल गरिरहेका थिए।
यसैबिच उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको तुलसीपुर स्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गरेका छन्।
कार्यालय अनुगमनसँगै कार्यालयबाट भइरहेको सेवा प्रवाहका बारेमा मन्त्री न्यौपानेले जानकारी लिए। उनले विचलित नभई उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
उपलब्ध स्रोत साधनको उपभोग गरेर नागरिकको सेवामा खटिन निर्देशन दिँदै मन्त्री न्यौपानेले भने ‘हामीहरू विचलित हुने हैन, उच्च मनोबलका साथ काम गरौँ, नागरिकलाई सहज ढङ्गबाट सेवा प्रवाह गरौँ।’
प्रकाशित: २८ आश्विन २०८२ १९:२६ मंगलबार