नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै स्मृति समारोह आयोजना गरेको छ।
कांग्रेसको संस्थापन पक्षले भने बिहानै जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) आयोजना गरेको थियो। संस्थापनइतर समूहले भने प्रज्ञा भवनमा ‘संवाद, सहमति र एकता–आजको आवश्यकता’ भन्ने मूल नारासहित अलग्गै कार्यक्रम गरेको हो।
कार्यक्रमको उद्घाटन आयोजक समिति संयोजक तथा कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटनपछि उनीहरूले बिरुवामा पानी हालेर वातावरण संरक्षणको सन्देशसमेत दिएका थिए।
संस्थापनइतर समूहले साउन ३ गते निवर्तमान कार्यवाहक सभापति खड्काको संयोजकत्वमा बसेको बैठकबाट बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो। समारोहका लागि पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो।
प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मोहन बस्नेत, विमलेन्द्र निधि, शशांक कोइराला, डा. शेखर कोइरालालगायत संस्थापनइतर समूहका नेताहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: ६ श्रावण २०८३ १४:३८ बुधबार