राजनीति

वरिष्ठ नेताको तक्माले केही हुन्न, मलाई जनतामा पठाउनुहोस्: वामदेव

फाइल।

कुनै बेला नेपालको कम्युनिष्ट आन्दोलनका एक शक्तिशाली हस्ती, तर पछिल्लो समय राजनीतिको केन्द्रबाट टाढिएका नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) को मञ्चबाट विद्रोहको शंखघोष गरेका छन्।

पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने ‘मलाई वरिष्ठ नेताको पद चाहिँदैन, त्यो त उमेरले पाको भएपछि लाइनमा अगाडि राखेजस्तो मात्र हो। मलाई पद होइन, जिम्मेवारी दिनुहोस्। म जनताको बीचमा सिधै जान चाहन्छु।’

सोमबार आयोजित कार्यक्रममा गौतमले पार्टी प्रवेश गर्दाको आफ्नो द्विविधादेखि कम्युनिष्ट पार्टीहरुको विभाजनसम्मका अनुभवहरू पोख्दै अबको आफ्नो राजनीतिक यात्रा जनता र संगठन निर्माणमा केन्द्रित हुने घोषणा गरे।

गौतमले एकीकृत समाजवादी पार्टी स्थापना हुँदा नै आफू सँगै विभाजित हुन चाहेको तर आफ्नै दिमागी द्विविधाका कारण सामेल हुन नसकेको स्वीकार गरे। ‘त्यसबेला सँगै विभाजित हुन नसक्नुको कारण मेरै हो। मेरो दिमागमा भएका केही कुराहरूले मलाई रोक्यो,’ उनले भने।

नेकपा एमाले विभाजनपछि पनि आफूले दुई टुक्रा भएका पार्टीलाई जुटाउन सकिन्छ कि भन्ने आशामा प्रयास गरेको तर सफल हुन नसकेको उनको स्वीकारोक्ति थियो। ‘मलाई लाग्यो, मसँग त्यही शक्ति छ, मैले फुटेका दुई पार्टीलाई जुटाउन सक्छु। तर केही त गर्नुपर्‍यो भन्नेमै सीमित भइयो, त्योभन्दा अगाडि बढ्न सकिएन,’ उनले भने।

सानो समूह लिएर ठूला पार्टीहरूलाई एकताको उपदेश दिनुको कुनै अर्थ नहुने निष्कर्षमा पुगेपछि आफू बनेको पार्टी (समाजवादी) रोज्न आएको उनले स्पष्ट पारे। ‘सानो टुक्रो लिएर ठूला-ठूला पार्टीसँग तपाईंहरू जुट्नुपर्छ भन्दा मेरो शक्ति र आवाज हराउँदो रहेछ,’ उनले भने, ‘त्यसैले बनेको पार्टीमै जाउँ, अनि मात्रै त्यो काम गर्न सकिएला भनेर आएको हुँ।’ 

प्रकाशित: ९ भाद्र २०८२ १५:१२ सोमबार