राजनीति

आर्थिक रूपमा सम्पन्न नभएसम्म सुरक्षाका चुनौती रहिरहन्छन्: अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालमा देखिने अधिकांश सुरक्षा चुनौतीको मूल कारण आर्थिक अवस्था भएको बताएका छन्।

नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा प्रधानसम्पादक गुणराज लुइटेलसँग कुराकानी गर्दै उनले देश आर्थिक रूपमा समृद्ध नहुँदासम्म समाजमा अपराध र द्वन्द्वका घटना नियन्त्रण गर्न कठिन हुने औंल्याए।

महानिरीक्षक अर्यालले भने, ‘सुरक्षाका चुनौतीहरू राजनीतिक, सामाजिक र भौगोलिक लगायत विभिन्न क्षेत्रबाट आउँछन्। तर, नेपाल जस्तो देशमा सुरक्षाको मुख्य चुनौती भनेकै आर्थिक अवस्था हो।’

आर्थिक रूपमा सम्पन्न भएमा अहिलेका धेरैजसो द्वन्द्व र अपराध आफैँ समाधान भएर जाने उनको तर्क छ।

सीमा क्षेत्रमा हुने अपराध, नयाँ संगठनहरूको उदय र धर्म परिवर्तनजस्ता घटनाहरू पनि प्रत्यक्ष वा परोक्ष रूपमा आर्थिक प्रलोभन र कमजोरीसँग जोडिएको उनले सुनाए।

‘धर्म परिवर्तनका कुराहरू हुन् वा आर्थिक प्रलोभनमा परेर हुने अन्य गतिविधि, यी सबैको जड गरिबी र बेरोजगारी नै हो,’ उनले भने।

अहिले विश्वभर देखा परेको अस्थिरताको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै उनले सुरक्षा फौजलाई समय सापेक्ष रूपमा तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता औंल्याए।

नेपालको सुरक्षा निकायले सम्भावित चुनौतीको मूल्यांकन गर्दै आफ्ना रणनीति र जनशक्तिलाई अझै मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

आर्थिक अभावकै कारण नागरिकलाई सहज र सुरक्षित जीवनयापन गर्न कठिन भइरहेको अवस्थामा राज्यले रोजगारी सिर्जना र आर्थिक समृद्धिमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

‘जब मानिसहरू आर्थिक रूपमा सक्षम हुन्छन्, तब उनीहरू गैरकानुनी र आपराधिक गतिविधिबाट स्वतः टाढा हुन्छन्,’ महानिरीक्षक अर्यालले भने।

उनले आफ्नो कार्यकालमा संगठनलाई व्यावसायिक र नागरिकमैत्री बनाउन अधिकतम प्रयास गरेको र आगामी दिनमा पनि सुरक्षा निकायले जनताको विश्वास जितेर मात्र सफल हुने धारणा राखे।

प्रकाशित: १६ वैशाख २०८३ २०:०० बुधबार