राजनीति

धर्म निरपेक्ष वा सापेक्ष हुँदैन, स्वतन्त्र हुनुपर्छ: शशांक

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफूले हिन्दु राष्ट्रको वकालत नगरेको दाबी गर्दै धर्म सधैँ स्वतन्त्र हुनुपर्ने पक्षमा आफू दृढ रहेको बताएका छन्।

विगतमा हिन्दु धर्मका पक्षमा आफूले दिएका अभिव्यक्तिहरू विरोधीहरूलाई संवादको बाटोमा ल्याउन चालिएको ‘राजनीतिक रणनीति’ मात्र भएको उनले सुनाए।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै डा. कोइरालाले धर्म र राज्यको सम्बन्धबारे आफ्नो सैद्धान्तिक दृष्टिकोण सार्वजनिक गरेका हुन्।

पिता बीपी कोइरालाले कहिल्यै धर्मको राजनीति नगरेको तर तपाईंले निरन्तर हिन्दु धर्मको वकालत गर्नुभयो नि भन्ने प्रश्नमा कोइरालाले आफू धर्मका विषयमा पूर्णतः स्पष्ट रहेको बताए।

‘म धर्मका बारेमा एकदमै स्पष्ट छु। धर्म न निरपेक्ष हुन्छ, न त सापेक्ष नै हुन्छ; धर्म स्वतन्त्र हुन्छ,’ कोइरालाले भने, ‘धर्म भनेको व्यक्तिको सोच र निजी आस्थाको विषय हो। त्यसैले राज्यले यसलाई निरपेक्ष वा सापेक्ष भनेर बाँध्नुहुँदैन, व्यक्तिको स्वतन्त्रतामा छोडिदिनुपर्छ।’

‘धर्म स्वतन्त्र हुन्छ भन्दै गर्दा तपाईं आफैंले हिन्दु धर्मको वकालत गर्नुभएको होइन र ?’ भन्ने सम्पादक अधिकारीको प्रश्नमा डा. कोइरालाले भने, ‘अहँ, मैले हिन्दु धर्मको वकालत गरेको होइन, सधैं धर्म स्वतन्त्रताकै कुरा गरेको छु,’ उनले भने, ‘अब हेर्नुस्, यो पनि एउटा राजनीतिक स्ट्राटेजी हो। मैले हिन्दु धर्म भनिदिएपछि मात्रै हिन्दु धर्मका विरोधीहरू बाटोमा आउँछन्। उनीहरू बाटोमा आइसकेपछि बल्ल म धर्म स्वतन्त्र हुनुपर्छ भनेर मध्यमार्गी बाटो देखाउँछु। यो शुद्ध राजनीतिक रणनीति थियो।’

धर्म व्यक्तिगत विचार र स्वतन्त्रताको विषय भएको पुष्टि गर्न डा. कोइरालाले आफ्ना मातापिताको पारिवारिक उदाहरणसमेत प्रस्तुत गरे।

‘मेरी आमा सुशीला एकदमै धार्मिक हुनुहुन्थ्यो, उहाँ दैनिक भगवान्‌को अगाडि नाच्नुहुन्थ्यो। मैले एकपटक बा (बीपी) लाई सोधेँ, बा, तपाईं त कहिल्यै पूजा गर्नुहुन्न, तपाईं नास्तिक हो ?’

कोइरालाले स्मरण सुनाए, ‘त्यसपछि बाले मलाई भन्नुभयो, ‘हेर शशांक, त्यो सुशीलाको आफ्नो विचार हो, त्यसलाई म सम्मान गर्छु। त्यो गलत हो कि सही, त्यो भन्नु मेरो लागि उपयुक्त हुँदैन। उसको आफ्नो विचार छ, मेरो आफ्नो विचार छ।’ हामी त्यसरी नै आपसमा रमाएर बस्यौं।’

व्यक्तिगत आस्थालाई राजनीति र राज्यको सीमाभन्दा बाहिर राखेर सबैको विचारको सम्मान गर्नु नै बीपी विचारको मूल मर्म भएको भन्दै डा. कोइरालाले धर्मलाई दलीय वा शासकीय विवादको विषय बनाउन नहुने धारणा राखे।

प्रकाशित: १४ आश्विन २०८३ २०:२६ बुधबार