राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछानेमाथि राज्यले अन्याय गरिरहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित विवेकशील साझासँगको पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले लामिछानेको न्यायिक प्रक्रियामा भएको ढिलाइप्रति आक्रोश पोखेका हुन्।
नेता श्रेष्ठले लामिछाने हिरासतमा रहेको एक वर्षभन्दा लामो समय भइसक्दा पनि मुद्दाको किनारा नलागेको भन्दै प्रश्न उठाए।
उनले भने, ‘एक–एक वर्षसम्म मुद्दाको टुंगो नै नलागेको मान्छेलाई यसरी राख्न मिल्छ ? न्याय ढिलो गरी दिनु, न्यायलाई ढिलो सुस्त गर्नु पनि अन्याय होइन र ? ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि भन्छन् नि।’
उनले लामिछाने छुट्ने आशामा हरेक साताको बिहीबार कुरिरहेको तर निराशा मात्र हात लागेको गुनासो गरे।
उनले भने, ‘बिहीबार–बिहीबार कुर्दाकुर्दै कुन बिहीबार हो भन्ने पनि थाहा भएन। जे जस्तो भने पनि अघिल्लो सरकारले साँधेको प्रतिशोधलाई यो सरकारले सही अनुसन्धान गरिदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह हो।’
श्रेष्ठले ४० लाख मानिसले हस्ताक्षर गरेको अभियानको सुप्रिम कमाण्डर रवि लामिछाने नै भएको बताउँदै आजको ऐतिहासिक एकता सभामा उनको अनुपस्थिति सबैलाई खड्किएको बताए।
‘देशमा यो खालको परिस्थिति छ, सबैले रवि खोजेका छन्,’ उनले भने, ‘आज धन्य हामीले पार्टीलाई बिग्रिन नदिएर यहाँसम्म राखेका छौँ। तर उहाँ (रवि लामिछाने) आइसकेपछि जनताले उहाँलाई कसरी खोजेका छन् भन्ने कुरा म यही मञ्चबाट निवेदन गर्न चाहन्छु।’
सम्बोधनका क्रममा उनले विवेकशील आन्दोलनका संस्थापक स्व. उज्ज्वल थापालाई स्मरण गर्दै उनले देखाएको उद्यमशीलता र संस्कृतिको बाटोमा हिँड्नुपर्नेमा जोड दिए।
साथै, विगतमा विवेकशील साझाको नेतृत्वले ‘गुडिरहेको गाडीबाट हाम फालेपछि’ आफू अलमलमा परेको बेला विपिन आचार्यले नै आफूलाई रास्वपामा ल्याएको स्मरण समेत गरे।
प्रकाशित: १४ मंसिर २०८२ २०:४७ आइतबार