नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिमा तर्क हराउँदै गएको टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भुसालले यस्तो बताएका हुन्।
‘अहिले नेपाली राजनीतिमा नयाँ भ्रष्ट जिन्दाबाद, पुरानो भ्रष्ट मुर्दावाद भन्ने नारा पपुलर भइरहेको छ,’ भुसालले भने, ‘अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दाबाद, अनि हामी पुरानाहरूले रैथाने भ्रष्ट जिन्दाबाद भन्न खोजेको हो कि?’
उनले नयाँ भ्रष्ट भनेर कसलाई भनेका हुन् भनेर प्रस्ट खुलाएनन्। तर उनको यो व्यंग्य नयाँ दल भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लक्षित देखिन्छ।
उनले सहरमा तर्क नै नभएको पनि बताए। उनले भने, ‘सहरमा तर्क छैन। अहिले राजनीतिमा तर्क हरायो।’ यस्ता तर्कले काम गर्दा मुलुक विभाजित अवस्थामा रहेको भुसालले टिप्पणी गरे।
प्रकाशित: ४ भाद्र २०८२ १६:५९ बुधबार