राजनीति

राष्ट्रघाती अभिव्यक्तिमा बन्देज लगाउन माग गर्दै हर्कले बुझाए संकल्प पत्र

प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेश गरेका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति असामान्य तथा राष्ट्रहितविपरीत भएको भन्दै भविष्यमा प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूले राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति दिन नपाउने भन्दै सभामुखसमक्ष संकल्प पत्र बुझाएका हुन्। 

उनले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७९ १ को ग  ‘ संकल्प प्रस्ताव पारित गरौ ’ भन्ने बारेमा संकल्प प्रस्ताव सभामुख समक्ष अघि सारेका हुन् ।  प्रस्तावमा प्रधानमन्त्रीले गत जेठ १७ गते  प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा दिएको ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन समेत माग गरेका छन् ।  

उनले प्रधानमन्त्रीको लिखित वक्तव्य संसदमा पेश गर्नुपर्ने, आगामी दिनमा सरकारका कुनै पनि पदाधिकारी वा सांसदले राष्ट्रिय सार्वभौमिकता र अखण्डताविरुद्ध तथ्यहीन अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्नुपर्ने तथा राष्ट्रिय हितका विषयमा सत्ता र प्रतिपक्ष सबै दल एकताबद्ध हुनुपर्ने सन्देश दिन संकल्प प्रस्ताव दिएको बताए।  

प्रकाशित: २६ जेष्ठ २०८३ १४:५९ मंगलबार