प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई सरकारले अस्थायी आश्रय, स्वास्थ्य सेवा, राहत तथा आवश्यक सहयोग उपलब्ध गराइरहेको बताएका छन्।
नुवाकोटको विदुर–१०, बेत्रावतीबाट सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरेको जानकारी दिँदै प्रधानमन्त्री शाहले खोज तथा उद्धार कार्य अझै जारी रहेको बताएका हुन्।
उनका अनुसार बाढीबाट प्रभावित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका ज्येष्ठ नागरिकमध्ये ७ जनालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयर र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। उहाँहरूका लागि ह्वीलचियर तथा वाकरको व्यवस्था गर्नुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइएको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री शाहले अस्थायी बसाइलाई सकेसम्म छोटो बनाउँदै बाढीपीडित ज्येष्ठ नागरिकका लागि छिट्टै सुरक्षित स्थायी बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढीका क्रममा आफन्त गुमाएका नागरिकको आक्रोशलाई पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले पीडितमाथि अनावश्यक टिप्पणी, हियाउने वा थप मानसिक पीडा दिने कार्यप्रति सरकार कठोर हुने चेतावनीसमेत दिएका छन्।
यस्तै, बाढीपछिको जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेका सुरक्षाकर्मीप्रति प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गर्दै उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताएका छन्।
“आदरणीय आमाबुबाहरू, हामीमाथि भरोसा राख्नुहोस्,” प्रधानमन्त्री शाहले भनेका छन्।
प्रकाशित: २० भाद्र २०८३ २०:५० शनिबार
-600x400.jpg)


