राजनीति

गगन थापाको राजीनामाबारे सचिनले भने : यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ

नेपाली कांग्रेसका नेता सचिन तिमिल्सिनाले पार्टी सभापति गगन थापा चुनावी हारको जिम्मेवार नरहेको बताएका छन्। 

उनले पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति, जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध, मनपरी गठबन्धन, भ्रष्टाचारका आरोप र मूल्यहीन राजनीति जिम्मेवार रहेको भन्दै यस्तो बताएका हुन्।

'यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ, हाम्रो पार्टीको पछिल्लो दशकको सञ्चालन पद्धति थियो, जनतासँग पूर्ण रूपमा विच्छेद भएको सम्बन्ध थियो, मनपरी गठबन्धन थियो, भ्रष्टाचारका आरोप थिए, मूल्यहीन राजनीति थियो,' तिमिल्सिनाले सामाजिक सञ्जालमा लेख्छन्।

उनले पार्टीमा रहेका नकारात्मक पक्षविरुद्ध थापाले नै लडेको र निरन्तर सुधारका मुद्दा उठाए जिकिर गरे। साथै उनले  तत्कालीन नेतृत्वले समय र जनताको भाव बुझिदिएको भए विशेष अधिवेशनको नौबत नै नआउने बताए। उनले भने, 'तत्कालीन नेतृत्वले समय र जनताको भाव बुझिदिएको भए, विशेष अधिवेशनको नौबत नै आउने थिएन। विशेष अधिवेशनले कांग्रेसमा प्राण त भर्‍यो तर जनतामाझ सुधारको सन्देश लैजाने समय अपर्याप्त थियो।'  

तिमिल्सिनाले पार्टी सभापतिको हैसियतमा चुनावी पराजयको जिम्मेवारी लिँदै थापाले दिएको राजीनामाले उनको राजनीतिक उचाइ झल्किएको बताएका छन्। 'पार्टी सभापतिको हैसियतमा रहेकाले चुनावी पराजयको जिम्मेवारी लिँदै तपाईंले दिएको राजीनामाले तपाईंको राजनीतिक कद झल्काउँछ,' उनले लेखे, 'दाइ गर्व छ!'

प्रकाशित: ५ चैत्र २०८२ ०८:३० बिहीबार