राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फको बन्दसूचीमा परेका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
रास्वपाबाट समानुपातिकको बन्दसूचीमा परेका ढकालसहित केहीको नाममा विवाद भएपछि यसअघि गायिका त्रिशला गुरुङ र चर्चित होस्ट आशिफ शेखलगायतले पनि उम्मेदवारी फिर्ता लिएका थिए। सचिनले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन्।
उनीले लेखेका छन्, ‘उद्यमशीलताको प्रवर्द्धन मार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अघि सरेरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
एफसी चितवनका अध्यक्ष समेत रहेका उनले अगाडि लेखेका छन्, ‘तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’
उनले विदेशमा अध्ययनपश्चात उतै कैयौं अवसरहरू प्राप्त भए पनि स्वदेशमै उद्यम गरी देशको समृद्धिमा सकेजति इँटा थप्छु भन्ने अठोटका साथ स्वदेश फर्किएको उल्लेख गरेका छन्। उनले बाबु चन्द्रप्रसाद ढकालको प्रेरणाबाट नै उद्यमशीलताको विकासमा लागिपरेको बताएका छन्।
हेर्नुस् उनको स्टाटस
विदेशमा अध्ययनपश्चात् उतै कैयौँ अवसरहरू प्राप्त भए पनि स्वदेशमै उद्यम गरी देशको समृद्धिमा सकेजति इट्टा थप्छु भन्ने अठोटका साथ म स्वदेश फर्किएको हुँ । आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी समृद्ध नेपाल निर्माणमा इमानदार रूपले लाग्नुपर्छ भन्ने मेरा पिताजी श्री चन्द्रप्रसाद ढकालको प्रेरणाबाट नै म उद्यमशीलताको विकासमा लागिपरिरहेको छु ।
नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा म हाल सक्रिय रहँदै आएको पनि छु । स्वदेशमा युवा उद्यमशीलता र रोजगारीका पर्याप्त अवसर प्राप्त नहुँदा हाल वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिने गरेको नमिठो तथ्यांक हामीसँग छ । तर, विदेशमा अध्ययन सकेर उतै उपलब्ध हुने आकर्षक अवसरलाई त्याग्दै स्वदेशमै केही गर्ने योजना, सोच र आँट लिएर कैयौँ युवा आफ्नै मातृभूमि फर्किएर आउने गरेका पनि छन् । स्वदेशमै सम्भावनाका ढोकाहरू ढकढक्याउन आउने यिनै कैयौँ युवाका प्रयासहरूमा साथ र सहयोग दिने मेरो अठोट छ । सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ ।
उद्यमशीलताको प्रवर्धन मार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।
युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति म निरन्तर प्रतिबद्ध रहनेछु । साथै, आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि यसै जानकारी मार्फत व्यक्त गर्दछु ।
अन्त्यमा, मलाई लाग्छ कुनै व्यावसायिक घरानाको सन्तान हुनु, उसले उद्यमशीलतामार्फत नयाँ सोच अघि सार्नु र देशको विकासमा केही योगदान गर्छु भनेर लागिपर्नु नराम्रो होइन । मेरा पिताजीको जस्तै स्वदेशमै उद्यमशीलता विकास गरेर, उद्यम व्यवसाय सञ्चालन गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोच हो । मैले मेरो पारिवारिक पृष्ठभूमिबाट प्राप्त हुने अवसर लिएर नभई आफैले हासिल गरेको शिक्षा र ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै उद्यमशीलताको विकास गर्ने प्रयत्नमा छु । त्यसैले मैले कुनै पनि व्यवसायको परम्परागत निरन्तरता भन्दा पनि नवीनता, नवउद्यम र चुनौतीपूर्ण काममा नै आफूलाई यसरी खार्ने प्रयत्न गरिरहेको छु, जुन नेपालका सबै युवाका लागि उदाहरणीय बन्न सकोस् ।
धन्यवाद
सचिन ढकाल
अध्यक्ष, एफसी चितवन
प्रकाशित: १९ पुस २०८२ ११:३६ शनिबार