राजनीति

नेपालको शिक्षा र खेलकुदमा लगानी गर्न रसिया इच्छुक, सहकार्य विस्तार गर्न मन्त्री पोखरेलको जोड

रसियाले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले यस्तो तत्परता देखाएका हुन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, जनशक्ति विकास तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।

भेटका क्रममा राजदूत भ्लादिमेरोभिकले नेपालको शिक्षा र खेलकुद पूर्वाधार एवम् विकासमा लगानी गर्न रसियाली पक्ष इच्छुक रहेको बताए। उनले यी क्षेत्रहरूमा सहकार्यका नयाँ सम्भावनाहरू पहिल्याउँदै ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सकिने धारणा राखे।

यसैगरी मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रसियन सरकारले पुर्‍याउँदै आएको निरन्तर योगदान र सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

उनले आगामी दिनमा शिक्षा, खेलकुद तथा मानव संशाधन विकासका पारस्परिक हितका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १२ आश्विन २०८३ १५:३७ सोमबार