राजनीति

अध्यक्ष हटाउने हल्ला पानीको फोकाजस्तै हो, म ५७ वर्षदेखि पार्टी जोगाएर आएको नेतृत्व हुँ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र र बाहिर चलाइएको नेतृत्व परिवर्तनको बहस बलेसीबाट खसेको पानीको फोकाजस्तै भएको बताएका छन्।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी कुवेतको पाँचौं अधिवेशनलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू केवल महाधिवेशनको भोटबाट निर्वाचित अध्यक्ष मात्र नभएको बताए।

५७ वर्षअघि संगठन केही नभएको अवस्थादेखि पार्टी निर्माण, भूमिगत जीवन, जेलनेलको यातना र हालैको अन्तर्राष्ट्रिय प्रहारबाट समेत पार्टीलाई जोगाएर ल्याएको नेतृत्व आफू भएको उनको दाबी छ।

निर्वाचनको परिणामलाई लिएर पार्टीभित्र केहीले हरेश खाए पनि एमाले पहिलेकै दरो अवस्थामा फर्कने सामर्थ्य राख्ने उनले बताए।

‘केहीले हरेश खानु बेग्लै कुरा हो, एमालेका कमिटीहरू जस्ताको तस्तै छन् र कार्यकर्ता जहाँको तहीँ छन्,’ ओलीले भने, ‘अनेक प्रयास गरे पनि एमालेमा फाटो ल्याउन सम्भव छैन, अब बस्ने केन्द्रीय कमिटी बैठकपछि पार्टी झन् एकताबद्ध भएर अगाडि बढ्छ।’

सम्बोधनका क्रममा ओलीले वर्तमान सरकारमाथि पनि तीव्र गरे। सरकार फासीवाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले गरिब, सुकुम्बासी, ट्रेड युनियन र कर्मचारीतन्त्रमाथि आतंक मच्चाइएको बताए। जनताले सरकारलाई पाँच वर्ष जे पनि गर्ने लाइसेन्स नदिएको उनको चेतावनी थियो।

गत वर्ष भदौ २३ र २४ गते सत्ता प्राप्तिका लागि राज्यका तीनै अङ्ग र नेताका घर जलाउने विध्वंश मच्चाइएको चर्चा गर्दै उनले सो घटनाले अन्तर्राष्ट्रिय जगत्मा देशको छवि बिगारेको बताए।

अध्यक्ष ओलीले गएको निर्वाचनमा सामाजिक सञ्जालको गलत प्रचारका कारण आम नागरिक र विदेशमा रहेका युवासमेत भ्रममा परेको औंल्याउँदै त्यो भ्रम चिर्न प्रवासी नेपाली मञ्चलाई निर्देशन दिए।

प्रकाशित: ६ भाद्र २०८३ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App