राजनीति

रामेछापमा उम्मेदवारी निष्क्रिय भएको हल्ला भ्रामकः ई.वीरेन्द्र श्रेष्ठ

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि रामेछापमा उम्मेदवारी निष्क्रिय भएको भन्ने हल्ला फैलिएको विषयमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रालोपा)का उम्मेदवार ई.वीरेन्द्र श्रेष्ठले उक्त समाचार पूर्ण रूपमा भ्रामक र असत्य भएको बताएका छन्।

केही संचारमाध्यम तथा सामाजिक सञ्जालमा “इन्जिनियर वीरेन्द्र श्रेष्ठको उमेदवारी निष्क्रिय भएको” भन्ने आशयका समाचार तथा वक्तव्यहरू सार्वजनिक भएपछि श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी यथावत रहेको स्पष्ट पारेका हुन्।

उनले पार्टीको आधिकारिक निर्णय र नेतृत्वको निर्देशनअनुसार आफ्नो उम्मेदवारी कायम रहेको उल्लेख गर्दै पार्टीको विधान र प्रक्रियाअनुसार केन्द्रीय नेतृत्वबाट मात्र आधिकारिक निर्णय हुने बताए। “केही व्यक्तिहरूले गरेको अपूर्ण र असंगत गतिविधिलाई आधार मानेर फैलाइएको भ्रमप्रति समर्थक, कार्यकर्ता तथा मतदातालाई भ्रमित नहुन अनुरोध गर्दछु,” विज्ञप्तिमा उल्लेख छ।

श्रेष्ठले रामेछापको विकास, जनताको विश्वास र सकारात्मक राजनीतिक संस्कारलाई अघि बढाउने साझा अभियान जारी रहेको पनि बताएका छन्। यस्ता भ्रामक प्रचारले सत्यलाई कमजोर पार्न नसक्ने र बरु अझ एकजुट भएर अगाडि बढ्न प्रेरणा दिने उनको भनाइ छ।

उनले संचारकर्मी, बुद्धिजीवी, कार्यकर्ता तथा रामेछापवासीलाई सत्यतथ्य बुझेर सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै आगामी निर्वाचनमा जनताको विश्वासलाई जितमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०८२ १७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App