राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई जवाफ फर्काएका छन्।
सांसद सुनारले आईजीपी कार्कीलाई आरोपीले बयान दिनुको सट्टा प्रवचन दिएको बताउँदै जवाफ फर्काएका हुन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा कार्कीलाई सुनारले भ्रष्टाचार गरेको गम्भीर आरोप लागेपछि तत्काल निलम्बनमा राखेर छानबिन गर्नुपर्ने कुरा राखेपछि त्यसको जवाफमा आईजीपी कार्कीले पाषणयुगिन सोच् भएका शासक भनेका थिए।
कार्कीले आफ्नो मर्यादाको ख्याल नगरी बिनाप्रमाणका आधारमा लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए। सुनारले लेखा समितिको बैठक नै बहिस्कार गरेर हिँडेपछि त्यहाँ रहेका अन्य दलमात्रै नभइ रास्वपा सांसद गोविन्द पन्थीलगायतले समेत आलोचना गरेका थिए।
त्यसको जवाफमा सुनारले सामाजिक सञ्जालमा जवाफ लेख्दै गम्भीर आरोप लागेको व्यक्तिले बयान दिनुको सट्टा प्रवचन दिएको बताएका हुन्।
‘म राष्ट्रसेवक - प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु। तर गरिबका छोराछोरी, म्यादी, सिपाही, हवलदार भएका छन्, उनीहरूका जुत्ता, मोजा, कट्टु, रासन खाएको अरबौँको गम्भीर र ठूलो मुद्दा परेको छ, मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन दिने हैन, जुत्ता लगाउने हो खाने हैन,’ उनले लेखेका छन्।
साथै, उनले एक हजार अर्बभन्दा धेरै राज्यमा बेरुजु रहेको बताए। भ्रष्टाचार, घोटाला, अनियमितताका काण्ड धेरै रहेको बताउँदै राज्यको आर्थिक हिसाब-किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा आफू रहेको जिकिर गरे।
उनले हिजोको मुद्दा - बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय नभएको भनाइ राखे। उनले लेखेका छन्, ‘१ हजार अर्बभन्दा धेरै राज्यमा बेरुजु छ। भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति कति, राज्यको आर्थिक हिसाब-किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौँ। हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ, बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ, त्यसको लागि जस्तोसुकै मूल्य चुकाउन किन नपरोस्, हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन।’
प्रकाशित: २९ श्रावण २०८३ ०९:२९ शुक्रबार
-600x400.jpg)


