राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

पार्टी सभापतिको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीको आगामी महाधिवेशन, सांगठनिक सुदृढीकरण र विधान संशोधनसहितका विभिन्न ९ वटा कार्यसूचीमाथि छलफल भइरहेको छ।

बैठकमा विशेषगरी केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र आगामी महाधिवेशन कार्यविधिको मस्यौदाका सम्बन्धमा निर्णय लिइने बताइएको छ।

यस्तै, पार्टीको मौजुदा विधान र संसदीय दलको विधान संशोधनको प्रस्तावमाथि पनि सदस्यहरूले धारणा राख्नेछन्।

बैठकले स्थानीय तहका सम्भावित उम्मेदवारहरूका लागि उम्मेदवार क्लब गठन गर्ने र त्यसका लागि आवेदन आह्वान गर्ने प्रक्रियाबारे निर्णय लिने कार्यसूची छ।

प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाटै मताधिकार दिने व्यवस्था सुनिश्चित गर्ने विषयलाई पनि रास्वपाले प्रमुख एजेन्डा बनाएको छ।

प्रकाशित: ७ वैशाख २०८३ १६:२० सोमबार