राजनीति

लुम्बिनीका दुई निर्वाचन क्षेत्रमा पनि रास्वपा उम्मेदवारको जित

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत लुम्बिनी प्रदेशका दुई महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ। बाँके निर्वाचन क्षेत्र नम्बर १ र रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट रास्वपाका उम्मेदवारहरू भारी मतान्तरका साथ निर्वाचित भएका छन्।

बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट ५६ वर्षीय सुरेश कुमार चौधरी ३२ हजार ७ सय ९२ मतका साथ विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेललाई १७ हजार ४ सय ९१ मतको ठुलो अन्तरले पराजित गरे। गौडेलले १५ हजार ३ सय १ मत प्राप्त गर्दा नेकपा एमालेका सूर्य प्रसाद ढकाल ११ हजार ९५ मतमा सीमित भए।

त्यसैगरी, रूपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट ३६ वर्षीय युवा उम्मेदवार कन्हैया बनिया २८ हजार ६६ मतका साथ विजयी भएका छन्। उनले नेकपा एमालेका प्रमोद कुमार यादवलाई ७ हजार ८ सय ४ मतको अन्तरले पछि पारे। यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका आशुतोष मिश्र १५ हजार ६ सय १३ मतका साथ तेस्रो स्थानमा रहे।

प्रकाशित: २३ फाल्गुन २०८२ ०६:०४ शनिबार