जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरले विजयी भएका छन्। निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरसहित विजयी भएका हुन्।
निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमाल ३९ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। बुढाथोकीले १४ हजार २ सय २३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत ल्याएका छन्।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका चन्दनकुमार सिंह ३५ हजार ५९० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामकिशोरप्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कांग्रेसका भैयारामप्रसाद यादवले ११ हजार ८३७ मत र एमालेका बलवीरप्रसाद चौधरीले ७ हजार २१३ मत प्राप्त गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका अरविन्द साह ४० हजार ६ सय ९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। यसैगरी जसपा नेपालका रामबाबुकुमार यादवले ६ हजार ८ सय ८४, एमालेकी ज्वालाकुमारी साहले ५ हजार २ सय ७१, जनमत पार्टीका प्रमोद गुप्ताले ३ हजार ८ सय १९ तथा नेपाल कम्युनिष्ट पार्टीका भरतप्रसाद साहले १ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मतसहित विजयी भएका छन्। उनले एमालेका किसान श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १ सय २३ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ र उपनिर्वाचन २०८० मा बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये १ र ३ मा एमाले, २ मा जसपा, ४ मा नेकपा समाजवादीका उम्मेदवार निर्वाचित बनेका थिए।
प्रकाशित: २४ फाल्गुन २०८२ ०६:४७ आइतबार