राजनीति

रास्वपा: बाहिर नरम भित्र गरम

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद तीव्र बन्दै गएका बेला सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहबिच कुनै समस्या नरहेको दोहोर्‍याएका छन्।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबार बुधबार आयोजित सांसद र मन्त्रीसहितको बैठकमा सभापाति लामिछानेले यस्तो दाबी गरेका हुन्। बैठकमा रास्वपा संसदीय दलका नेता एवं प्रधानमन्त्री शाह भने अनुपस्थित थिए।

बैठकपछि एकअर्काको कार्यशैलीप्रति असन्तुष्ट लामिछाने र शाहले अलग र फरक ढंगले पार्टीभित्र भेटघाट र छलफललाई तीव्र बनाउँदै आएका छन्। लामिछानेले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लो भएको’ भनी लेखेको विषयलाई गलत अर्थ नलगाउन बैठकपछि सञ्चारकर्मीलाई आग्रह गरे। ‘बालेनजीले लेख्नुभएको विषय, उहाँ कवि पनि हो नि त। कलाकार पनि हुनुहुन्छ,’ लामिछानेले भने, ‘यत्रो भिडमा पनि आज मैले एक्लो महसुस गर्न सक्दिनँ त, सक्छु नि। त्यसकारण त्यस्तो होइन, हरेक शब्दका अर्थ खोज्न गयौं भने कतै पुगिँदैन। सिंगो पार्टी सँगै उभिएको छ, कहाँ हुनुहुन्छ उहाँ एक्लो?’

प्रधानमन्त्री शाहले पार्टी सभापति लामिछानेले मन्त्रिपरिषद् हेरफेर गर्न नदिएको गुनासो निकटसँग गर्दै आएको स्रोतको दाबी छ।

पार्टीले हस्तक्षेप गर्दा सरकारको काम प्रभावकारी हुन नसकेको गुनासो पनि शाहको छ। लामिछाने पनि सरकारको कामप्रति सन्तुष्ट छैनन्। उनले प्रधानमन्त्रीलाई कार्यशैली परिर्वतन गर्न आग्रह गरेको दाबी स्रोतको छ। यो आग्रह स्वीकार गर्न प्रधानमन्त्री शाहले अटेर गरेपछि सभापति लामिछानेले निकट सांसदमार्फत संसद्मै ‘कालो चस्मा उर्तान’ भन्न लगाएको दाबी गरिएको छ।

प्रधानमन्त्री शाह निकट नेताहरू भने सभापति लामिछानेमाथि उनी स्वयं सरकारको नेतृत्व गर्न लालायित भएको आरोप लगाउँछन्। त्यसका लागि वातावरण बनाउन लामिछानेले पार्टी महाधिवेशन र विधानमा सोहीअनुसार चलखेल गरिरहेको आरोप प्रधानमन्त्री पक्षको छ। सभापति लामिछानेले भने महाधिवेशनपछि पार्टीभित्र समायोजन प्रक्रिया सकिएकाले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिलाई क्रमशः जिम्मेवारीमा ल्याउने दाबी गरेका छन्।

पार्टीभित्र दुई धार वा गुट रहेको कुरा अस्वीकार गर्दै लामिछानेले रास्वपाभित्र कुनै गुट नरहेको दाबी सञ्चारकर्मीसँग गरे। ‘यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन, इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको वाचा हो,’ लामिछानेले भने, ‘यहाँ यस्ता सामान्य कुराहरूले यत्रो पोलिटिकल र हिस्टोरिक कमिटमेन्ट बिग्रियो भन्नु घरमा साथीभाइसँग सानो कुरामा नमिलेर जिस्किएको जस्तो हो र ? हामी नापेर, जोखेर कुराकानी गर्दैनौं, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन।’

सभापति लामिछानेले मन्त्री र सांसदलाई सरकारका कामकारबाही कसरी सम्पादन गर्ने र संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा सुझाव तथा निर्देशन दिएका थिए। उनले अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन सांसद र मन्त्रीलाई निर्देशन दिएका छन्।

विधान संशोधन कार्यदल गठन

रास्वपाले संसदीय दलको भूमिकालाई थप सशक्त, अनुशासित र जनउत्तरदायी बनाउन विधान संशोधनको प्रक्रिया अघि बढाएको छ। संसदीय दलको बुधबार बसेको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको हो।

कार्यदललाई आवश्यकताअनुसार विधान संशोधन मस्यौदा र कार्यविधि तयार पार्न ७ दिनको समय दिइएको छ। संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार संसद्मा संसदीय मर्यादा पालन, सांसदहरूको जिम्मेवारी बोध र कानुन निर्माण प्रक्रियामा पार्टीको उपस्थिति बलियो बनाउन यो कदम चालिएको हो।

रास्वपाका नेताहरूका अनुसार संसद् भवनभित्र सांसदको आचरण, अनुशासन र मर्यादालाई थप व्यवस्थित बनाउन र जिम्मेवारीप्रति थप सजग गराउन विधानमा सुधार गर्न लागिएको हो।

कानुन निर्माण प्रक्रियामा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई कसरी अझ सशक्त र परिपक्व बनाउने भन्ने विषयलाई विधान संशोधन गरी प्रस्ट पारिने छ। बैठकमा मन्त्रीहरूले आफ्ना कामको ब्रिफिङ गर्ने र सांसदले आआफ्नो क्षेत्रका समस्या तथा गुनासो राख्ने क्रममा समन्वयको कमी देखिएकाल त्रुटि सुधार्न विधान र कार्यविधिर्म स्पष्ट पार्न लागिएको हो।

प्रकाशित: ४ भाद्र २०८३ ०६:२२ बिहीबार