राजनीति

रास्वपाले भन्यो: पत्रकार पक्राउ पार्टीको नीति र सिद्धान्तविपरीत (विज्ञप्तिसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा समाचार कक्षमै प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको नीति र सिद्धान्त विपरीत रहेको स्पष्ट पारेको छ।  

रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकारलाई समाचार लेखेकै कारण पक्राउ गर्नु संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको समेत उल्लंघन हुने बताएका छन्।

पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्यप्रति पार्टीको धारणा स्पष्ट रहेको खरेलको भनाइ छ। यद्यपि, पछिल्ला घटनाको वास्तविकता बुझेर पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए।

यसैबीच, प्रहरीले आज नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए। दियो पोस्टलगायतका सञ्चारमाध्यममा पनि प्रहरी पुगेको बताइएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १९:४१ शुक्रबार