प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा रास्वपाले क्लिनस्वीप गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा दुबै क्षेत्रमा रास्वपा उम्मेदवारहरु विजयी हुँदै क्लीन स्वीप गरेका हुन्। बागलुङ क्षेत्र नम्बर १ बाट सुशिल खड्का र क्षेत्र नम्बर २ बाट सोम शर्मा विजयी भएका हुन्।
बागलुङ क्षेत्र नम्बर १ मा खड्काले निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन्। बागलुङ नगरपालिका-३ का खड्काले २० हजार ९२७ मत प्राप्त गर्दा श्रीसले ११ हजार ९४४ मत पाएका छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले ८ हजार ६४० मत ल्याउँदा चित्रबहादुर केसीको विरासत जोगाउने जिम्मासहित चुनावी मैदानमा उत्रिएका राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण विक्रम आचार्यले ५२३ र श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २५४ मत पाए्। अन्य पाँच जनाले भने तीन अंकमा मत पुर्याउन सकेनन्।
बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै सोम शर्माले नेपाली कांग्रेसका टेकराज पौडेललाई पराजित गरेका छन्। उनले निकटम प्रतिस्पर्धी पौडेललाई ७७९ मतले पछि पार्दै जित हाँसिल गरेका हुन्।
विजयी भएका शर्माले १२ हजार ६४७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका पौडेलले ११ हजार ८६८ मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाउँदा नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले ७ हजार ८६४ र श्रम संस्कृति पार्टीका हर्कबहादुर पुनले ५६४ मत ल्याएका छन्। निर्वाचन अघि पाहुना उम्मेदवारको ट्याग लागे पनि शर्माले निर्वाचन जितेर देखाएका छन् ।
प्रकाशित: २३ फाल्गुन २०८२ १२:१९ शनिबार