राजनीति

एमाले संसद्ले ‘रविले अदालतको फाइल जलाउने आदेश दिए’ भनेपछि.....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अदालतका फाइल जलाउन निर्देशन दिएको आरोप लागेपछि सोमबारको प्रतिनिधि सभा बैठकमा केहीबेर तनाव उत्पन्न भयो।

नेकपा (एमाले) की सांसद गंगा देवी श्रेष्ठले उक्त आरोप लगाएपछि रास्वपा सांसद लाल बिक्रम थापाले जुरुक्क उठेर प्रतिवाद गर्दै ती शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग गरे।

बैठकमा बोल्दै एमाले सांसद श्रेष्ठले जेन-जी आन्दोलनअगावै रास्वपा सभापतिले अदालतको कोठा र फाइल किटान गरेरै जलाउन निर्देशन दिएको दाबी गरेकी थिइन्।

‘कुन-कुन फाइल कुन अदालतको कति नम्बर कोठामा छ, त्यो जलाउनू भनेर निर्देशन दिएर जलाउँदा पनि कसरी बाँकी रहेछ र अहिले फेरि जल्‍दैछ ?’ उनले प्रश्न गरिन्।

गत भदौ २३ र २४ गते अदालत जलाउँदा बाँकी रहेका फाइलहरू अहिले छानी-छानी फेरि जलाइएको दाबी गर्दै उनले घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरिन्।

स्वतन्त्र न्यायालयमाथि सरकारको गिद्दे नजर किन लागिरहेको छ र अदालतलाई किन निशाना बनाइँदैछ भन्दै उनले सरकारप्रति आक्रोश पोखिन्।

एमाले सांसद श्रेष्ठको भनाइलगत्तै रास्वपा सांसद लाल बिक्रम थापाले उठेर नियमापत्ति जनाए। आफ्ना पार्टी सभापतिमाथि सदनमा कपोलकल्पित र भ्रामक आरोप लगाइएको भन्दै उनले ती शब्दहरू संसद्को रेकर्डबाट तत्काल हटाउन सभामुखसँग माग गरे।

सदनभित्र अफवाह र झुटको खेती भइरहेको आरोप लगाउँदै सांसद थापाले भने, ‘सदनमा पटक-पटक यस्ता झुटहरू बोलिएका छन्। पार्टी सभापतिमाथि लगाइएका यी निराधार शब्दहरू तत्काल रेकर्डबाट हटाइयोस्।’

प्रकाशित: ५ आश्विन २०८३ १५:५५ सोमबार