राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी छाडेकी निवर्तमान सांसद सुमना श्रेष्ठलाई आगामी यात्राको शुभकामना दिएको छ। मंगलबार केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता मनिष झाले पार्टी बैठकबाटै सुमनालाई नयाँ यात्राको शुभकामना दिएको बताए।
‘सुमना जीको बारेमा आज छलफल भयो। सुमना जी लगायत तीन जना केन्द्रीय सदस्य, पूर्व महामन्त्रीलगायत सबैको बारेमा आंशिक छलफल ग¥यौं। सुमना जीको बारेमा अलि केन्द्रित भयौँ,’ प्रवक्ता झाले भने, ‘उहाँले पार्टीलाई अहिलेसम्म, स्थापनाकालको केही समय दुई तीन महिना पछाडि उहाँ जोडिनुभएको थियो। अहिलेसम्म जुन किसिमको योगदान गर्नुभयो, त्यो प्रति सम्मान छ।’
मान्छे छोडेर गयो भन्दैमा उसको कुरा काट्नुपर्छ, उसलाई नराम्रो भन्नुपर्छ भन्ने धारणा र संस्कार रास्वपाले नराख्ने उनले दाबी गरे। ‘इभन मुकुल ढकालले स्थापनाकालदेखि जति महिना रहेर हामीलाई सघाउनुभयो, एउटा दस्ताबेजीकरणका लागि नेतृत्व लिनुभयो, त्यसप्रति पनि सम्मान छ,’ प्रवक्ता झाले भने।
तर यात्रा जब व्यवहारहरू फरक हुँदा टुंगिने उनले टिप्पणी गरे। त्यस्तै सुमनाको केही अपेक्षा र केही अभ्यास नमिलेको उनले बताए। ‘त्यसमा कतिपय हामीले पहिला देखि केही अभ्यास ग¥यौं पनि, उहाँको अपेक्षा अनुसार। तर सबै अपेक्षा सम्बोधन गर्न नसक्ने अवस्था भयो र उहाँले आफ्नो लिनुभयो,’ उनले भने। आफ्नो निर्णय लिन सुमना स्वतन्त्र रहेको पनि उनले बताए। केन्द्रीय समिति बैठकमा उनी प्रति कुनै नकारात्मक टिप्पणी नगरेको पनि उनले दाबी गरे। ‘उहाँको आगामी यात्राका लागि शुभकामना,’ प्रवक्ता झाले भने।
पार्टीका केही सदस्यले सुमनासँग फेरि संवाद गर्ने कि भन्ने पनि सुनिएको उनले बताए। ‘कार्यदल बनाएरै संवाद गर्ने कि भन्ने छ। उहाँले पनि ठाउँ राख्नुभएको छ, त्यो अजेन्डा बोक्छु भनेर,’ उनले भने।
प्रकाशित: ७ आश्विन २०८२ १९:४४ मंगलबार