राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सोमबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो।
बैठकको मुख्य एजेन्डा आगामी निर्वाचनका लागि पार्टीको समानुपातिक बन्दसूचीलाई अन्तिम रूप दिनु रहेको छ।
रास्वपाले यस पटक समानुपातिक सांसद छनोटका लागि परम्परागत विधिभन्दा फरक ‘प्राइमरी इलेक्सन’ को अभ्यास गरेको छ। आन्तरिक प्रतिस्पर्धा र पार्टी सदस्यहरूको मतका आधारमा उम्मेदवारहरूको रोस्टर तयार पारिएको थियो।
आजको बैठकले सोही आन्तरिक प्रतिस्पर्धा र प्राइमरी इलेक्सनबाट सर्वाधिक मत ल्याएर छनोट भएका उम्मेदवारहरूको नाम अनुमोदन गरी निर्वाचन आयोगमा बुझाउने अन्तिम सूची तयार पार्ने बताइएको छ।
नेतृत्वले गोजीबाट नाम छान्ने प्रवृत्तिको अन्त्य गर्न भन्दै रास्वपाले लोकतान्त्रिक विधिबाट उम्मेदवार छनोट गरेको जनाएको छ। केन्द्रीय समितिले सूची पास गरेलगत्तै निर्वाचन आयोगमा बुझाइने तयारी छ।
प्रकाशित: १४ पुस २०८२ १५:५९ सोमबार