राजनीति

रास्वपाले महाधिवेशनका लागि चन्दा संकलन गरेको छैन : मनिस झा

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिस झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताएका छन्। आज (शनिबार) महाधिवेशन स्थल निरीक्षणका कार्यक्रममा प्रवक्ता झाले व्यापारी र घरनालाई रसिद पठाउने अभ्यासको अन्त्य गरेको बताएका हुन्।  

‘हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,’ उनले भने, ‘महाधिवेशनका लागि नै भनेर कुनै घराना व्यापारीलाई रसिद कसैलाई पठाएका छैनौँ।’ महाधिवशेन सञ्चालनका लागि चार करोड रुपैयाँ लाग्ने अनुमान रास्वपाले गरेको छ। सो रकम सांसद, केन्द्रीय समिति, विभिन्न विभागका सदस्यबाट उठ्ने लेवी तथा महाधिवेशन प्रतिनिधिबाट उठ्ने उनले बताए।

‘हामी सांसदले प्रतिमहिना १६ हजार ५ सय रुपैयाँ उठाउँछौँ। त्यहाँबाट महिनामा ३२ लाख रुपैयाँ संकलन हुन्छ। केन्द्रीय सदस्यले वार्षिक २५ हजार रुपैयाँ संकलन गर्दछौँ,’ उनले भने, ‘महाधिवेशन प्रतिनिधिबाट नै डेढ करोड रुपैयाँ संकलन हुन्छ।’ उनले शुभेच्छुकहरूलाई आन्तरिक रूपमा क्यूआर पठाइएको बताए।  

रास्वपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठाउन नपरेको उनले बताए। रास्वपाका नेता तथा कार्यकर्ता यातायात र आवासको व्यवस्था आफैँ गर्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ। ‘हामीले महाधिवेशनमा आउने टिकटको व्यवस्था आफैँ गरेका छौँ। होटल बुक पनि आफैँ नै गर्ने हो,’ उनले भने, ‘राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेसा हुनुपर्छ। कसैलाई चन्दा माग्ने हो भने उसले लाभ लिन खोज्छ।’

व्यापारिक घरानामा रसिद पठाउने अभ्यास बन्द गर्नुपर्ने उनले बताए। ‘निर्वाचनका बेला पनि रास्वपाले पैसा माग्ने काम गरेन। जनताको लागि काम गर्न आयौँ भन्छौँ, तर जनता व्यापारीसँग उल्टै पैसा लिन थाल्छौँ। त्यो त राजनीति नै भएन नि,’ उनले भने, ‘हामीले सहयोग माग्छौँ त्यो मान्छेको स्वार्थ हुन्छ।’

रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ।

प्रकाशित: ६ असार २०८३ १३:१८ शनिबार