राजनीति

रास्वपा महाधिवेशन: सहमहामन्त्रीमा अशोक चौधरीको दाबेदारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अशोककुमार चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी सार्वजनिक गरेका छन्। उनले प्रथम राष्ट्रिय महाधिवेशनमार्फत खुल्ला थारू केन्द्रीय सदस्य हुँदै समावेशी समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारीसहित प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।

रास्वपाका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका चौधरीले आफ्नो उम्मेदवारीलाई केवल पदको प्रतिस्पर्धा नभई पार्टीको संस्थागत सुदृढीकरण, कार्यकर्ताको सम्मान र संगठनात्मक एकताको अभियानका रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार तल्लो तहमा रहेका कार्यकर्ताको भावना, अपेक्षा र आवाजलाई केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित आफू मैदानमा उत्रिएको हो। उनले भने, ‘तल्लो तहका साथीहरूको भावना र आवाज केन्द्रीय नेतृत्वसम्म पुर्‍याउन मेरो उम्मेदवारी केन्द्रित छ।’

चौधरी यसअघि प्रतिनिधिसभामा समानुपातिक प्रणालीमार्फत सांसद बनेका थिए। पछिल्लो निर्वाचनमा उनले सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यमा सफलता हासिल गरेका थिए। हाल उनी प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिका रूपमा कार्यरत छन्।

४३ वर्षीय चौधरीले रास्वपाको सुरुवाती चरणदेखि नै संगठन विस्तार अभियानमा अग्रपंक्तिमा भूमिका निर्वाह गर्दै आएको दाबी गरेका छन्। उनले समावेशिता र सहभागितामार्फत नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित: ८ असार २०८३ १७:०६ सोमबार