राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ।
पार्टीका महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।
बैठकले उम्मेदवार छनोट रूपरेखाको कार्यान्वयन तथा समन्वयका लागि विभिन्न सदस्यको संयोजकत्वमा उपसमिति गठन गरेको पार्टीले जनाएको छ।
गठित उपसमितिहरूमा कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा क्यान्डिडेट क्लब, सुशान्त वैदिकको संयोजकत्वमा प्रविधि उपसमिति र जनकसिंह धामीको संयोजकत्वमा गुनासो समन्वय उपसमिति रहेका छन्।
त्यस्तै, डा. तोशिमा कार्कीको संयोजकत्वमा समावेशिता तथा महिला सहभागिता, टासी ल्हाजोमको संयोजकत्वमा क्षमता विकास समन्वय, रहबर अन्सारीको संयोजकत्वमा व्यवस्थापन र मिलन लिम्बूको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ।
महानगर र उपमहानगरका वडामा उम्मेदवारी आवेदन खुला गरिने
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।
इच्छुक तथा योग्य व्यक्तिहरूले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्ने रास्वपाले जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८३ ०९:५७ आइतबार