राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा पसेर पत्रकारलाई धरपकड गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता जगदिश खरेलले यसबारे जानकारी दिएका हुन्। उनले न्युजरुममै पुगेर पत्रकारमाथि धरपकड तथा पक्राउ गरिनु गलत भएको भन्दै सरकारले कुनै सम्झौता नगरी दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने बताए।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि रास्वपा दृढ छ,’ प्रवक्ता खरेलले भने, ‘सञ्चारगृहमा प्रहरी कसको आदेशमा, किन र कसरी प्रवेश गर्यो भन्नेबारे सत्यतथ्य छानबिन हुनुपर्छ। दोषी जोसुकै भए पनि शीघ्र कानुनी दायरामा ल्याउन पार्टीले सरकारलाई स्पष्ट निर्देशन दिएको छ।’ उनले घटना हुनासाथ पार्टीले विरोध जनाएको र प्रधानमन्त्री कार्यालयबाट समेत कुनै संलग्नता नरहेको स्पष्ट भइसकेको उल्लेख गरे।
यसैगरी, रास्वपा सचिवालय बैठकले न्यायालयमा देखिएका पछिल्ला विकृति, विसंगति र न्यायाधीशहरूसँग जोडिएका विवादको निकास अदालत वा न्यायपरिषद्बाट मात्र सम्भव नहुने निष्कर्ष निकालेको छ। समग्र न्यायक्षेत्रको पुनर्संरचनाका लागि संवैधानिक बाटोबाट प्रक्रिया अघि बढाउन बैठकले आफ्नाे संसदीय दललाई निर्देशन दिएको छ।
बैठकमा पार्टी सह-महामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको ‘मधेश अडिट’ सम्बन्धी प्रतिवेदन अध्ययनका लागि पेस गरिएको छ।
यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपा प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने निर्णयसमेत बैठकले गरेको छ।
प्रकाशित: १४ कार्तिक २०८३ १७:५७ शनिबार