राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक र वरिष्ठ राजनीतिज्ञ पशुपति शमशेर जबराको ८४औं जन्मोत्सवका अवसरमा जनसम्मान गरिएको छ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा राप्रपासहित विभिन्न ८४ वटा संघसंस्थाले उनलाई सम्मान गरेका हुन्।
सो अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले नेपाली समाज, राजनीति र पूर्वाधार विकासमा जबराले खेलेको भूमिकाबारे चर्चा गरे। राप्रपाका पूर्वअध्यक्षसमेत रहेका जबराको जन्म विसं १९९८ वैशाख २५ गते विजयशमशेर जबरा र सरलादेवी राणाको सुपुत्रका रूपमा भएको थियो।
तत्कालीन गृह पञ्चायत मन्त्रालयको सहसचिवबाट जागिरे जीवन सुरु गरेका जबरासँग राष्ट्र बैंकको निर्देशक, राष्ट्रिय पञ्चायत र प्रतिनिधिसभा सदस्य र मुलुकको यातायात, पर्यटन, स्थानीय विकास, अर्थ, परराष्ट्र, जलस्रोत, शिक्षालगायत महत्वपूर्ण मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ। उनी हालको प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पनि हुन्। रासस
प्रकाशित: २७ असार २०८२ २०:५० शुक्रबार