राजनीति

माओवादीलाई राप्रपाको प्रश्न : हृदयेन्द्रबारे सांसद लामाको अभिव्यक्तिमा पार्टीको धारणा प्रतिविम्बित छ ?

राप्रपाले हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’बारे नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामाले दिएको अभिव्यक्ति असभ्य, अमर्यादित र पाखण्डपूर्ण भएको बताएको छ।

पूर्वयुवराज हृदयन्द्र शाहले आफ्नो २३ औँ जन्मदिनमा जुम्ला यात्राको भ्लग ‘माई ट्रिप टु जुम्ला’ सार्वजनिक गरेपछि जुम्लाबाट प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामाले यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’ को संज्ञा दिँदै कडा आपत्ति जनाएकी थिइन्।

लामाले फेसबुकमार्फत हृदयन्द्रको भ्लगलाई राजतन्त्रको झल्को दिने र गणतन्त्रको उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको आरोप लगाएकी थिइन्। उनले राजतन्त्र कालमा जुम्लामाथि भएको शोषण र क्रूरताको इतिहास स्मरण गर्दै गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट र स्वास्थ्य सेवा पुर्‍याएको दाबी गरेकी थिइन्।

सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सांसद लामाको टिप्पणी असभ्य, अमर्यादित र पाखण्डपूर्ण भनेका हुन्। उनले हृदयेन्द्रका बारेमा लामाको सार्वजनिक अभिव्यक्तिमा माओवादी केन्द्रको धारणा प्रतिबिम्बित छ भन्दै प्रश्न समेत गरेका छन्।

'नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको ‘जुम्ला भ्लग’बारे माओवादी सांसद छिरिङ ल्हामु लामाको टिप्पणी असभ्य, अमर्यादित र पाखण्डपूर्ण छ,' उनले भने, 'नेकपा माओवादी केन्द्रलाई प्रश्न : नवयुवराज हृदयेन्द्रका बारे तपाईको पार्टीबाट जुम्लाकी समानुपातिक सांसद लामाको सार्वजनिक अभिव्यक्तिमा पार्टीको धारणा प्रतिबिम्बित छ?'

'जुम्लाको सभ्यता, सौन्दर्य र पहिचानलाई विश्वमाझ चिनाउने बहुचर्चित ‘भ्लग’लाई लिएर जुम्लाकै सांसद लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा नागरिकको स्वतन्त्रता र अथितिको मर्यादा विपरीत छ,' उनले सामाजिक सञ्जालमा लेखे।

साथै सार्वजनिक अभिव्यक्तिमा माओवादीको धारणा प्रतिबिम्बित नभएको भए लामाले सार्वजनिक माफी माग्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १७ श्रावण २०८२ ०९:१७ शनिबार