राजनीति

मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपाको दुई थरी निर्देशन

बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने विषयमा राप्रपाले बेग्लाबेग्लै ह्वीप जारी गरेको छ।

सोमबार मुख्यमन्त्री थापाले विश्वासको लिन लागेकामा राप्रपाका दुई समूहले दुई थरी ह्विप जारी गरेको हो।

आइतबार प्रदेश प्रमुख सचेतक कुमारी तामाङले थापाको विपक्षमा मतदान गर्न वा तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन ह्वीप जारी गरेकी थिइन्।

यसैगरी, प्रमुख सचेतककै हैसियतमा डम्बर तामाङले अर्को  ह्वीप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र थापालाई विश्वासको मत दिन निर्देशन दिएका छन्।

मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन्।  

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले थापाको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। विश्वासको मत पाउन थापालाई ५३ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेको २५ र नेकपाको २६ गरेर ५१ जना सांसद छन्।

१२ सिट रहेको राप्रपा दुई भागमा बाडिएका छन्। प्रदेशमा नेपाली कांग्रेसको ३६ सिट, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

प्रकाशित: ८ भाद्र २०८३ १२:५८ सोमबार