राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले हटाएको प्रति अन्य नेताहरुले आपत्ति जनाएका छन्।
लिङदेनप्रति असन्तुष्टि जनाउँदै आएका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री द्वय धवल शम्सेर राणा र कुन्तीकुमारी शाहीले गिरीलाई विधान विपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट पदमुक्त गर्नु पार्टी जीवनमा दुखद् घटनाक्रम रहेको बताएका हुन्।
आफूमाथि अन्याय भएको भन्दै गिरीले निर्वाचन आयोगमा उजुरी दर्ता गराए लगत्तै तीन नेताले आइतबार विज्ञप्ति निकालेर एकता महाधिवेशनको म्याण्डेट आत्मसात् गर्दै पार्टीको सर्वोपरि हित र एकताको पक्षमा सामूहिक सार्वजनिक अपिल गरेकै कारण गिरीलाई निकाल्नु आपत्तिजनक भएको बताएका हुन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विधानको व्यवस्था र गरिमा अवमूल्यन गर्दै प्राकृतिक कानुनको सिद्धान्त अनुरूप स्पष्टीकरणको मौका समेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा र उल्लंघन गर्दै उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने र पार्टीको प्रजातान्त्रिक छविमा आँच ल्याउने स्वेच्छाचारिता अस्वीकार्य छ। पार्टी एकता, आन्तरिक प्रजातन्त्र र विधिको शासन अवरोध हुने यस एकलौटी कार्यले देशव्यापी रुपमा पार्टीका साथीहरू र शुभेच्छुकहरूलाई दुखित एवं चिन्तित तुल्याएको छ।’
पार्टीमा लामो समयदेखि क्रियाशील गिरीलाई विधान विपरीत पदमुक्त गर्ने गल्ती सच्याएर, देशभरिका पार्टीका साथीहरूको भावना समेत मध्यनजर गरेर उनलाई पूर्ववत् पदमा कायम राख्न उनीहरुले पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन्।
प्रकाशित: ४ श्रावण २०८२ १६:३६ आइतबार