राजनीति

परिवर्तनको इतिहास बोकेको रोल्पाले विकासमा गति लिन सकेन : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सरकार नागरिकको सरकार हो भने नागरिकको दुःखमा राज्यको अनुभूति हुनुपर्ने बताएकी छन्।

मंगलबार संसद्‌मा बोल्दै उनले मध्य वर्षातको समयमा बढ्दो बाढी र पहिराको त्रासका बिच संकटको घडीमा राहत बाँड्ने वा नेता पुग्ने कुराभन्दा पनि राज्यको उपस्थिति र नागरिकले महसुस गर्ने गरी समान सहानुभूति आवश्यक रहेको बताएकी हुन्। सचेतक धितालले रोल्पाको थबाङ, सुनछहरी र लुंग्रीमा आएका बाढी र पहिराका घटनामा परी हालसम्म १७ जनाको ज्यान गएको र बेपत्ताहरूको खोजी जारी रहेको जानकारी दिइन्।

विपद्को यो घडीमा आफन्तहरूले सास भेटिन्छ कि भनेर प्रतीक्षा गरिरहेको उल्लेख गर्दै उनले मानिसको अमूल्य ज्यान तथ्यांकमा मात्र सीमित भएको देख्दा आफूलाई असाध्यै पीर लाग्ने बताइन्। केही महिनाअघि मात्रै रोल्पामा भएको जीप दुर्घटनामा एउटै गाउँका १९ जनाले अनाहकमा ज्यान गुमाएको स्मरण गर्दै उनले मानवीय क्षतिले सिर्जना गरेको रिक्तता कुनै पनि राहत प्याकेजले मेट्न नसक्ने उल्लेख गरिन्।

परिवर्तनको इतिहास बोकेको रोल्पाले लामो समयदेखि विकासको गति लिन नसकेको र सामान्य हावा चल्दा समेत सदरमुकामको बिजुली काटिने गरेको बताउँदै उनले आधारभूत आवश्यकताका लागि अझै पनि भौतारिनुपर्ने अवस्था रहेको गुनासो गरिन्। थबाङजस्तो ऐतिहासिक भूमि आज मृत्युको त्रास र पहिराको जोखिममा बाँचिरहेको उल्लेख गर्दै उनले भनिन्, 'घर भत्किएपछि बनाउन सकिएला, सम्पत्ति गुमेपछि कमाउन सकिएला, तर गुमेको मान्छे कसरी फिर्ता ल्याउन सकिएला?'

विपद् आएपछि राहत बाँड्नेभन्दा पनि विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने कुरामा राज्यको आवश्यकता रहेको उनको भनाइ छ। रोल्पाका नागरिकहरू अहिले पनि त्रास र तड्पाइमा बाँचिरहेको अवस्थाप्रति सदन र सरकारको तुरुन्त ध्यान जानुपर्ने माग गर्दै सचेतक धितालले तत्काल प्रभावकारी उद्धार तथा सम्मानजनक व्यवस्थापन गर्न आग्रह गरिन्।

प्रकाशित: २ भाद्र २०८३ १४:२९ मंगलबार