राजनीति

साइबर र यौन अपराध नियन्त्रणमा महिला प्रहरीको भूमिका विशेष: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले समाजमा महामारीको रूपमा फैलिरहेको यौनजन्य हिंसा, साइबर अपराध र लागूऔषध जस्ता गम्भीर घटनाहरू नियन्त्रणका लागि महिला प्रहरीको भूमिका सबैभन्दा प्रभावकारी हुने बताउँदै उनीहरूलाई अग्रमोर्चामा परिचालन गरिने संकेत दिएका छन्।

बिहीबार नेपाल प्रहरीको इतिहासमै पहिलो पटक आयोजना गरिएको ‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

‘यौनजन्य घटना, लागूऔषध र साइबर अपराध आजको सबैभन्दा ठूलो चुनौती हो, र यस्ता अपराधबाट सबैभन्दा बढी महिला तथा बालबालिका पीडित छन्,’ गृहमन्त्री लेखकले भने, ‘यस्ता अपराधको अनुसन्धान र न्यूनीकरणमा पुरुषभन्दा महिला प्रहरीको उपस्थिति र संलग्नता कैयौं गुणा बढी प्रभावकारी हुन्छ।’

उनले देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूलाई थप क्रियाशील बनाउन समेत निर्देशन दिए।

सम्मेलनको उद्घाटन सत्रमा नेपाल प्रहरीकी प्रथम महिला प्रहरी चैतमाया डंगोल देखि अवकाश प्राप्त एआईजीहरू डा. दुर्गा थापापूजा सिंह जस्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले अब महिला प्रहरीको उपस्थितिलाई केवल संख्या र तथ्याङ्कमा सीमित नराखी उनीहरूको प्रभावकारी, गुणात्मक र नेतृत्वदायी सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे। ‘यो सम्मेलन ज्ञान, प्रेरणा र परिवर्तनको संवाहक हुनेछ,’ उनले भने।

दई दिनसम्म चल्ने सम्मेलनले नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ लाई कार्यान्वयन गर्दै महिला प्रहरीका चुनौती, अवसर र उनीहरूको सशक्तिकरणका लागि ठोस मार्गचित्र तयार पार्ने अपेक्षा गरिएको छ।

गृहमन्त्री लेखकले आफ्नो सम्बोधनको अन्त्यमा सम्पूर्ण प्रहरीलाई निर्देशन दिँदै भने, ‘नागरिकप्रति अत्यन्तै विनम्र र अपराधीप्रति अत्यन्तै निर्मम भएर जिम्मेवारी वहन गर्न कटिबद्ध हुनुस्।’ 

प्रकाशित: ५ भाद्र २०८२ १८:३० बिहीबार