राजनीति

कांग्रेसलाई सशक्त बनाउन शुभेच्छुक संस्थाको भूमिका महत्त्वपूर्ण: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानअनुसार पार्टीको सर्वोत्तम हित र प्रजातान्त्रिक मूल्य तथा मान्यतालाई स्वीकार्ने भ्रातृ संस्थाका साथै शुभेच्छुक संस्थाले पनि समयमा अधिवेशन गरेर गतिशील बन्नुपर्नेमा जोड दिएका छन्। 

पार्टीको शुभेच्छुक संस्था समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताए।  

उनले पार्टीको शुभेच्छुक सङ्घ समन्वय विभागलाई शुभेच्छुक संस्थाका लागि आवेदन दिएका विषयमा अध्ययन गरेर केन्द्रीय समितिमा पेस गर्न आग्रह गरेका हुन्।

‘पार्टीको नेतृत्वलाई सुझाव दिने र सांसदलाई ज्ञान दिने काममा शुभेच्छुक संस्थाहरूको भूमिका हुन्छ। यस्ता संस्था पार्टीको मुख्यधारमा नभए पनि पार्टी नेतृत्वलाई सुझाव दिएर सुधार्ने क्षमता राख्छन्,’ उनले भने।  

महामन्त्री थापाले पार्टीको जिम्मेवारीमा रहेका मानिसहरू शुभेच्छुक संस्थाको जिम्मेवारी र नेतृत्वमा बस्न नहुनेमा जोड दिए। रासस

प्रकाशित: २ भाद्र २०८२ १७:५४ सोमबार