निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।
आयोगको कार्यालयमा आज आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा छलफल गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विकट क्षेत्रका हरेक पेसाका नागरिकसम्मलाई सही सूचना दिएर निर्वाचनको महत्त्व र आवश्यकताबारे प्रचारप्रसार गर्न आग्रह गरे।
'मुलुकमा निष्ठापूर्वक निर्वाचन सम्पन्न हुने वातावरण सृजना गर्न र त्यसरूपमा निर्वाचन भएको सन्देश देश विदेशमा फैलाउन राससजस्ता समाचार समितिको अझ बढी भूमिका रहन्छ। त्यस काममा विगतमा झैँ रासस अग्रसर हुने विश्वास आयोगले लिएको छ,' कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, 'अहिलेको निर्वाचन विशेष परिस्थितिको निर्वाचन भएकाले यस पक्षलाई मनन् गरेर निर्वाचन तयारी, सुरक्षा, मतदाता शिक्षालगायत विषयमा सही समाचार दिन उत्तिकै आवश्यक छ।' रासस
प्रकाशित: १७ कार्तिक २०८२ १४:१८ सोमबार