राजनीति

प्रधानमन्त्रीको चुनावी एजेन्डामा परेको सडक : एक अर्ब २२ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

फाइल तस्बिर

प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी एजेन्डामा परेको दमक-चिसापानी सडकको निर्माण प्रक्रिया अघि बढेको छ।

झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने यस सडकअन्तर्गत माङ्सेबुङ-लारुम्बा-चिसापानी खण्ड कालोपत्रे गर्न एक अर्ब २२ करोड रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढाइएको हो।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन दमकले नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ। सूचनाअनुसार काठमाडौंको महालक्ष्मी-जय धनञ्जय जेभीले एक अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसाको कबोल रकमसहित प्रारम्भिक छनोटमा परेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र रहेको सडकको निर्माण प्रक्रिया अघि बढाउनुलाई प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्।

करिब २५.५ किलोमिटर लामो माङ्सेबुङ-लारुम्बा-चिसापानी सडक खण्ड तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यसहित २०७६ फागुनमा ठेक्का सम्झौता गरिएको थियो। तर, पटक-पटक ताकेता, पत्राचार र सूचना जारी गर्दा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि सरकारले सम्झौता अन्त्य गरेको थियो।

ठेक्का अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुल गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरिएको थियो।

पुरानो ठेक्का अन्त्य गर्ने सरकारी निर्णयविरुद्ध निर्माण व्यवसायीले अदालतमा मुद्दा दायर गरेका थिए। कानुनी प्रक्रियाका कारण सडकको नयाँ ठेक्का अघि बढाउन ढिलाइ भएको थियो। मन्त्री लम्सालका अनुसार कानुनी प्रक्रिया तथा विभिन्न विवाद समाधान गर्नुका साथै स्रोत सहमति, लागत अनुमान र डिजाइन अद्यावधिक गर्ने काम पूरा भएपछि पुनः ठेक्का आह्वान गरिएको हो।

दमक-चिसापानी सडक लामो समयदेखि स्थानीयवासीका लागि सास्तीको विषय बन्दै आएको छ। विभिन्न राजनीतिक दलका चुनावी एजेन्डामा समेत पटक-पटक समेटिएको यो सडक कालोपत्रे गर्ने विषय प्रधानमन्त्री वालेन्द्र शाहको झापा-५ सम्बन्धी चुनावी प्रतिबद्धतामा पनि समावेश थियो।

नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएसँगै सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ। अब ठेक्का स्वीकृति तथा निर्माणसम्बन्धी बाँकी प्रक्रिया पूरा भएपछि काम अघि बढ्नेछ। करिब २५.५ किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य राखिए पनि निर्माण कार्य सुरु हुने मिति आगामी प्रक्रियामा निर्भर रहनेछ।

प्रकाशित: १२ कार्तिक २०८३ २१:२५ बिहीबार