सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभिन्न विषयका आठवटा कार्यदल बनाएर सडक तथा पुल निर्माणलाई गति दिइएको बताए ।
मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिन स्थानीय जनप्रतिनिधिको सहयोग आवश्यक रहेको बताए । बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानको कामलाई गति दिइरहेको उनले जानकारी दिए । अब पक्की सडक र पुल निर्माणलाई पनि छिटो सम्पन्न गर्ने गरी काम अघि बढाइने उनको भनाइ छ ।
उनले काठमाडौंमै रहेर मन्त्रालयअन्तर्गतका विभिन्न निकायका प्रमुखसँग समन्वय गरी आ–आफ्नो प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारको विवरण उपलब्ध गराउन, योजना निर्माणमा सहजीकरण गर्न तथा निर्माण कार्यको समन्वय, अनुगमन र नियमनमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।
‘प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गरिनेछ,’ मन्त्री लम्सालले भने, ‘ती क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको छ ।’
छलफलमा भोटेकोशी बाढी प्रभावित जिल्ला नुवाकोटका प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गैरसरकारी संस्थाले बाढी प्रभावितका लागि घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकाको संरक्षण गर्ने लगायतका आश्वासन दिँदै हिँडेको भन्दै उनीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताए ।
उनले प्रभावित क्षेत्रका कुनै पनि पीडित नछुट्ने गरी तथ्याङ्क सङ्कलन गरेर सरकारलाई समयमै उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे।
प्रकाशित: २९ भाद्र २०८३ १७:३६ सोमबार