राजनीति

रास्वपा र राप्रपाका नेतालाई बोलाएर सभामुखले भने : म बाध्यात्मक अवस्थामा संसद् चलाइरहेको छु

सहमतिका लागि लचिलो बन्न प्रतिपक्षी दललाई सरकारको आग्रह

सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा जारी गतिरोधबारे आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुसँग छलफल गरेका छन् ।  

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई पनि बोलाएर सभामुख घिमिरेले रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलाई गतिरोध अन्त्यका लागि आग्रह गरेका हुन् । सभामुख घिमिरेले भने, 'सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ । सभामुखका रुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरु कोही सभामुख भए पनि संसद चलाउनुपर्ने बाध्यतात्मक स्थिति छ ।'

सरकारले आगामी आर्थिक वर्ष संसदलाई १२१ वटा विधेयक दिने प्रतिवद्धता जनाएको स्मरण गर्दै सभामुख घिमिरेले हाउस निरन्तर अवरोध हुँदा ती विधेयकको अवस्था के हुन्छ भन्ने गम्भीर प्रश्न उब्जिएको बताए । उनले भने, 'संसद चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईंहरूको सैद्धानिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन तर, संसदीय गतिविधि प्रभावित भएको छ ।'

जवाफमा रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुखको पहलप्रति कुनै शंका नरहेको बताउँदै सरकार आफैं गैरजिम्मेवार बनेकाले समस्या थप जटिल बनेको धारणा राखे । उनले भने, 'सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैरजिम्मेवारी देखाएको छ ।'

राप्रपा उपाध्यक्ष तामाङले भिजिट भिसा प्रकरणमा गठित छानबिन समितिले गरिरहेको कामबारे संसदलाई जानकारी नदिनु आश्चर्यजनक भएको टिप्पणी गरे । उनले भने, 'भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौं । तर, विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । बैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसदलाई जानकारी दिएको छैन ।'

छलफलमा सहभागी कानून मन्त्री चौरसियाले सरकार कसैको मागलाई नजरअन्दाज गरेर जाने पक्षमा नरहेको बताउँदै सहमतिका लागि लचिलो बन्न प्रतिपक्षी दललाई आग्रह गरे । उनले भने, 'सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको छ, त्यो पनि प्रमुख विपक्षी दलको सहमतिमा नै । सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको बिन्दुमा पुग्न तपाईंहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ ।'

प्रकाशित: ६ श्रावण २०८२ १७:०१ मंगलबार

#Raswapa #raprapa #Savamukh #NagarikNews #NepaliNews