राजनीति

‘विकल्पबिनै जोखिमयुक्त बस्ती उठाउन मिल्दैन’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन् ।

उनले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित विकल्पबिनै विस्थापित गर्न नहुने स्पष्ट धारणा राख्दै सरकार र स्थानीय तहले मानवीय दृष्टिकोणबाट समस्या समाधान गर्नुपर्ने बताइन्।

शुक्रबार पार्टी सभापति रवि लामिछानेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले पार्टीभित्र प्रदेशगत रूपमा समस्या पहिचान गर्ने र सम्बन्धित क्षेत्रका सांसदले आफ्ना मुद्दा प्रत्यक्ष रूपमा नेतृत्वसमक्ष राख्ने अभ्यास सुरु भएको जानकारी दिइन्।

उनले भनिन्, ‘अब हामीले भेट्न पाउँदैनौँ, सभापतिज्यू धेरै बिजी हुनुहुन्छ। अहिले प्रदेशस्तर रूपमा आफ्ना–आफ्ना क्षेत्रका समस्या राख्ने काम भएको छ । समस्या कहाँ छ, जनताले के भोगिरहेका छन् भन्ने विषयमा छलफल गर्ने वातावरण बनेको छ । यो राम्रो सुरुवात हो ।’

इन्दिराले विशेषगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषयमा पार्टीको स्पष्ट धारणा आवश्यक रहेको बताइन् । स्थानीय सरकारले कतिपय ठाउँमा लालपुर्जा पाइसकेका बासिन्दालाई समेत उठ्न नोटिस दिइरहेको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरिन्। ‘मानिसहरूले वर्षौँदेखि कर तिरिरहेका छन्, घर बनाएका छन्, जीवन बिताइरहेका छन्, त्यस्ता नागरिकलाई एक्कासि उठ्नू भन्न मिल्दैन,’ उनले भनिन् ।

 

प्रकाशित: ८ जेष्ठ २०८३ १६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App