स्वतन्त्र नागरिक अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ।
अभियानका अध्यक्ष ऋषि धमलाले बिहीबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न माग गरेका हुन्।
अभियानले स्थानीय तह निर्वाचन ऐन, २०७३ लगायत निर्वाचनसम्बन्धी विद्यमान कानुन तथा कार्यविधि पुनरावलोकन र संशोधन गर्न नेपाल सरकारसमक्ष आवश्यक सिफारिस गर्न आयोगको ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका निर्वाचन चिह्न वितरण गर्ने व्यवस्था अन्त्य गरी उम्मेदवारलाई व्यक्ति विशेषको स्वतन्त्र निर्वाचन चिह्न प्रदान गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै, निर्वाचन प्रणाली सुधार, आचारसंहिता निर्माण, कानुन संशोधन तथा स्थानीय तहको निर्वाचनसम्बन्धी छलफल र नीतिगत बहसमा स्वतन्त्र नागरिक अभियानको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरिएको छ।
अभियानले गैरदलीय निर्वाचन प्रणालीको कानुनी तथा प्राविधिक आधार तयार गरेपछि मात्रै आगामी स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने मागसमेत अघि सारेको छ।
ज्ञापनपत्रमा स्थानीय तहमा दलीय हस्तक्षेप, राजनीतिक ध्रुवीकरण, भागबन्डा र दलगत स्वार्थ हावी हुँदा विकास निर्माण, सार्वजनिक सेवा प्रवाह तथा वित्तीय सुशासनमा समस्या आएको उल्लेख छ।
स्थानीय तहलाई दलीय हस्तक्षेपबाट मुक्त राखी नागरिकको योग्यता, क्षमता, कार्यदक्षता र स्थानीय आवश्यकताका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनाउनुपर्ने अभियानको भनाइ छ।
प्रकाशित: ३ मंसिर २०८३ १३:०२ बिहीबार