राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले वर्षौँ पुराना तथा बन्द भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याउनुलाई प्रगति मानेर खुसी हुनु हावादारी भएको बताएका छन्। शनिबार पत्रकारहरूसँग कुरा गर्दै लिङदेनले बन्द भएका उद्योगहरू चलाएर समृद्धि हासिल हुन्छ भन्नु कल्पनाबाहिरको विषय भएको बताएका हुन्।
‘त्यो पुस्ताबाट मैले चाहिँ कम्तीमा त्यो अपेक्षा गरेको थिएन कि अब हेटौँडा कपडा कारखाना चलाउँछु, अब गोरखकाली रबर उद्योग चलाउँछु, अब वीरगन्ज कृषि औजार कारखाना र जनकपुर चुरोट कारखाना चलाउँछु अनि त्यो नै उपलब्धि हो भनेर भन्छन् भन्ने मैले कल्पना गरेको थिएन। तर उहाँहरूले त्यही कुरा गर्नुभयो।’ उनले भने।
उनले सरकारले पुराना उद्योग चलाउन भन्दा पनि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताए।
उनले भने, ‘सरकारले अब उद्योग खोल्ने होइन, उद्योग खोल्न प्रेरित गर्नु पर्यो। निजी क्षेत्रलाई उद्योग खोल्दा र लगानी गर्दा राज्य मेरो पछि छ, राज्यले मलाई संरक्षण गर्छ भन्ने अनुभूति हुनुपर्यो। ’
उनले पछिल्लो समय सरकारले विद्युतमा अतिरिक्त कर लगाएको भन्दै त्यसमा सहुलियत हुनुपर्ने बताए । ‘बिजुली र करमा सहुलियत दिनुपर्यो। जसले हजार मान्छेलाई रोजगारी दिने उद्योग खोल्छ, उसलाई नाममात्रको मूल्यमा बिजुली दिनुपर्यो। कुनै दलले युनियन नखोल्ने व्यवस्था हुनुपर्यो, कसैले चन्दा माग्दैन भन्ने कुराको ग्यारेन्टी हुनुपर्यो।’ उनले भने।
प्रकाशित: २३ श्रावण २०८३ १७:२५ शनिबार