नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका ६ प्रमुख कारण औँल्याएका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका लागि तयार पारिएको उनको प्रतिवेदनमा जनअसन्तोष, बदलिँदो जनआकांक्षा, जेनजी आन्दोलन, भूराजनीतिक प्रभाव, शासकीय कमजोरी र पार्टीभित्रका समस्यालाई पराजयका मुख्य कारण मानिएको छ।
सात प्रदेश कमिटीसहित १३ स्थानबाट संकलित सुझाव समेटिएको प्रतिवेदनले एमाले बाह्य शक्तिको चलखेलका कारण मात्रै पराजित नभएको निष्कर्ष निकालेको छ। विगतका सरकारका कामप्रति बढेको जनअसन्तोष, सुशासन कायम गर्न नसक्नु, भ्रष्टाचार तथा अनियमितताका आरोपमा मुछिएका नेता–जनप्रतिनिधिमाथि समयमै कारबाही नहुनु र जनताका माग सम्बोधन गर्न नसक्नुले पार्टीप्रति अविश्वास बढाएको प्रतिवेदनमा उल्लेख छ।
पोखरेलले जनताको जीवनस्तर र आकांक्षा बढे पनि त्यसअनुसार रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना हुन नसकेको उल्लेख गरेका छन्। सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको कमजोर गुणस्तर, युवाको विदेश पलायन तथा राज्यप्रति बढ्दो असन्तुष्टिलाई पनि चुनावी परिणामसँग जोडिएको छ।
जेनजी आन्दोलनलाई सम्बोधन गर्ने क्रममा एमालेको दृष्टिकोण जनस्तरमा स्थापित हुन नसकेको प्रतिवेदनको निष्कर्ष छ। आन्दोलनका घटनालाई पूर्वनियोजित षड्यन्त्रका रूपमा व्याख्या गरे पनि राजनीतिक वृत्त र जनताले त्यसलाई स्वीकार नगरेको उल्लेख छ।
विशेषगरी आन्दोलनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु चुनावी रणनीतिका दृष्टिले प्रतिकूल बनेको पोखरेलको निष्कर्ष छ। चौतर्फी आलोचनाबीच पार्टी पंक्ति रक्षात्मक अवस्थामा रहेका बेला ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा पार्टी झन् रक्षात्मक बनेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले भूराजनीतिक चलखेल र सामाजिक सञ्जालको प्रभावलाई पनि चुनावी पराजयको एउटा कारण मानेको छ। प्रतिस्पर्धी शक्तिहरू सामाजिक सञ्जालमा आक्रामक हुँदा एमालेको प्रचार र सूचना संयन्त्र तुलनात्मक रूपमा कमजोर देखिएको उल्लेख छ।
शासकीय कमजोरीतर्फ बजेट निर्माणमा असन्तुलन, सेवा प्रवाहमा ढिलासुस्ती, शिक्षक तथा कर्मचारीका माग सम्बोधन नहुनु, किसानले अनुदान तथा उत्पादनको भुक्तानी समयमा नपाउनु र संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा ढिलाइलाई प्रतिवेदनले औँल्याएको छ।
त्यस्तै, उम्मेदवार छनोटमा पारदर्शिता नहुनु, गुटबन्दी, निर्णय पटक–पटक परिवर्तन हुनु, अन्तर्घातमा कारबाही नहुनु र संगठनमा अराजकता बढ्नु पार्टीको आन्तरिक कमजोरीका रूपमा उल्लेख गरिएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयले समेत पार्टी पंक्तिमा विभाजन ल्याएको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: ९ भाद्र २०८३ १९:०० मंगलबार