नेपालगन्जमा विभिन्न समयमा तोडफोड गरिएका ऐतिहासिक तथा राजनीतिक व्यक्तित्वका शालिक पुनःस्थापना गरी शनिबार एकैसाथ अनावरण गरिएको छ। पूर्वप्रधानमन्त्री तथा संविधान निर्माण प्रक्रियाका प्रमुख व्यक्तित्व स्वर्गीय सुशील कोइरालाको नयाँ शालिक पनि स्थापना गरिएको छ।
दोस्रो जनआन्दोलन २०६२।६३ का क्रममा अज्ञात समूहले तोडफोड गरेको स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक तथा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, जननेता पुष्पलाल श्रेष्ठ र दोस्रो जनआन्दोलनका सहिद सेतु विकका शालिक पुनःनिर्माण गरी अनावरण गरिएको हो।

यससँगै नेपालगन्जस्थित ट्राफिक कार्यालय नजिक संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको नयाँ शालिक पनि स्थापना गरी सार्वजनिक गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२। ८३ को बजेटमार्फत तोडफोड भएका सबै शालिक पुनःस्थापना गर्ने र सुशील कोइरालाको नयाँ शालिक निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार निर्माण सम्पन्न भएपछि शनिबार बिहान उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सबै शालिकको संयुक्त रूपमा अनावरण गरेका हुन्।

राजा वीरेन्द्रको शालिक दोस्रो जनआन्दोलनयता करिब दुई दशकदेखि पुनःस्थापित हुन सकेको थिएन भने बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र सहिद सेतु विकका शालिक जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि विगत ११ महिनादेखि सम्बन्धित चोकहरू शालिकविहीन बनेका थिए।
अनावरण कार्यक्रममा बोल्दै मेयर विष्टले राष्ट्रका लागि योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मान गर्नु समाजको साझा दायित्व भएको बताए। ‘राष्ट्रका लागि योगदान पुर्याउने राष्ट्रिय विभूतिहरूको सम्मान गर्न सक्यौं भने मात्र हाम्रो पनि सम्मान हुन्छ। जसले अरूको सम्मान गर्न सक्दैन, उसको पनि सम्मान हुँदैन,’ उनले भने।
उनले पुनःस्थापित शालिकहरूको संरक्षणमा स्थानीयवासीको सक्रिय भूमिका आवश्यक रहेको भन्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको जिम्मेवारी भएको बताए।


प्रकाशित: ९ श्रावण २०८३ ११:३० शनिबार

-600x400.jpg)

