सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले आधुनिक प्रविधिको युगमा सामुदायिक रेडियोको महत्त्व नघटेकाले भन्दै रेडियो प्रविधिमैत्री हुँदै जनअपेक्षाअनुसार सञ्चालन हुनपर्ने बताएका छन्।
दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको ३०औँ स्थापना दिवसका अवसरमा सामुदायिक रेडियो थप प्रविधिमैत्री भएर सञ्चालन हुनुपर्ने बताएका हुन्।
मन्त्री तिमल्सिनाले मुलुकका आमनागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्त्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको अवश्यकता रहेको बताएका छन्। उनले नैतिक पत्रकारिता र जिम्मेवारीपूर्ण सञ्चारका लागि रेडियो सगरमाथा थप प्रविधिमैत्री हुँदै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।
‘रेडियो सगरमाथा नेपालको इतिहासमा निष्पक्षताको मानक भएको तथ्य तीन दशकदेखि देखाइरहेका, पढाइरहेको छ । अहिले अधिकांश सञ्चारमाध्यमले सङ्घर्ष गरिरहनुपरेको छ । सञ्चारमाध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्नेगरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेछु’, उनले भने।
साथै लोककल्याणकारी विज्ञापनमा राज्यले ३० करोड खर्च गरिरहेको जानकारी दिँदै अरु विज्ञापनमा चलखेल भएकाले हाललाई त्यो रोकिएको बताएका हुन्।
‘सञ्चारमध्यमले पाउनुपर्ने विज्ञापन पाउन सकेका छैनन्, यसका लागि श्रमजीवी पत्रकारले आवाज उठाउनुपर्छ। सरकारलाई बुझाएको कर सदुपयोग हुनुपर्छ, लोककल्याणकारी विज्ञापनको दुरुपयोग भएको भए सोको उचित हिसाब हुन्छ। जनताको इच्छा र अपेक्षाअनुसारको सञ्चारका लागि लोककल्याणकारी विज्ञापन खर्च हुनुपर्छ’, सञ्चरमन्त्री तिमल्सिनाले भने।
प्रकाशित: ९ जेष्ठ २०८३ १२:४१ शनिबार